Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

पर्यटकीय सम्भावना बाेकेकाे निसेलढोर गाउँमा छैन बिजुली     


ढोरपाटन (रासस): जिल्ला सदरमुकाम बागलुङ बजारबाट भाैगाेलिकरूपमा सबैभन्दा टाढाको निसेलढोर गाउँका स्थानीयबासी अहिले पनि टुकीकाे भरमा दैनिकी गुजारिरहेका छन् । याे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुग्न नसक्दा स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन् ।

प्रसस्त पर्यटकीय सम्भावना बाेकेकाे याे गाउँका स्थानीयबासीकाे वेषभूषा, रीतिरिवाज र जीवनशैली विल्कुलै फरक भए पनि उज्यालाे नपुगेकै कारण यसकाे प्रवर्द्धन हुन सकेकाे छैन । निसेलढोरमा बिजुली पुर्याउनका लागि सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए ।

“अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न, चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौँ, यो ठाउँमा बिजुली बलेको हेर्ने ठूलो धोको छ, तर आउलाजस्तो लाग्दैन”, विकले भने, “पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिँडे पनि बाटो पुगेको छ ।”

उनले बेँसी झर्दा सरोकारवाला निकायलाई धेरैपटक निसेलढोरमा बिजुली चाहियो भनेर धेरै पटक माग राखे पनि त्यसकाे मागकाे बेवास्ता गरिएकाे दुखेसाे पाेखे । “धेरै पटक माग राख्याैं, वास्ता गरिएन, हामी अन्धाकारमा छौँ, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ ” उनले भने ।

निसेलढोर गाउँमा आन्तरिक पर्यटक पुग्ने गरे पनि बिजुली नभएकै कारण बास नबसी फर्कने गरेकाे स्थानीय मनिराम घर्तीमगरले बताए । उनले निसेलढोर  पर्यटकको रोजाइमा परेको सुनाउँदै बिजुलीकाे पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताए ।

“निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले बिजुलीकाे समस्या छ, बिजुली नहुँदा सयौँ स्थानीय अन्धकारमा बस्न बाध्य छन्, पर्यटकहरू आए पनि एकरात नबसी फर्कन्छन्, बिजुली भएको भए उनीहरूलाई एक–दुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयवासीले केही रकम आम्दानी गर्न सक्थे ” घर्ती मगरले भने ।

नेपालकै एकमात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ । पुशपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौँदेखि पछाडि परेको छ । यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन् । केही समय अगाडि मोटरबाटो निसेलढोर गाउँसम्म जोडिए पनि अहिलेसम्म बिजुलीसहित स्वास्थ्य र गुणस्तरीय शिक्षा यहाँ पुग्न सकेको छैन ।

“यहाँका स्थानीयवासीको अहिलेको आवश्यकता स्वास्थ्य र बिजुली हो, बिजुली नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगङ्गा जानुपर्छ, कि निसीगाउँमै पुग्नुपर्छ”, विकले भने, “कोही बिरामी पर्यो भने त झन् बुर्तिबाङ पुर्याउनुपर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पूरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौँ, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन ।”

यहाँका स्थानीयबासी टुकीकै भरमा रात बिताउँछन् । जिल्लाको निसीखोला गाउँपालिका–५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झण्डै एक दिन लाग्छ । गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानु पर्छ ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेँसी (निसीगाउँ) र गर्मीयाममा लेक (निसेलढोर) गर्ने गर्थे । अहिले सिजनअनुसार बसाइँसराइ गर्न छाडेर स्थायीरूपमै स्थानीय यहाँ बस्ने गर्छन् । यहाँ करिब ६० घरपरिवार स्थायीरूपमा बसोबास गर्ने गर्छन् । बर्खामा करिब ४ सय बढी परिवार यहाँ बस्ने गरेकाे स्थानीय वीरबहादुर विकले बताए । उनका अनुसार  हिउँद लागेपछि अहिले निसेलढोरमा २५ घरपरिवार मात्रै बसिरहेका छन् ।

चिसो बढेपछि अधिकांश मङ्सिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन् । उनीहरू अब असार लागेपछि मात्रै ढोर उक्लिने छन् । हिउँदमा बेँसी र बर्खामा लेकमा बस्नु निसीखोला–५ का स्वाथानीयबासीकाे परम्पराजस्तै हो । उनीहरूले सयौँको सङ्ख्यामा पशुचौपाया पाल्ने गरेकाे हुँदा लेक–बेँसी गर्नुपरेको हो । अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताए ।

केही वर्ष अगाडि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पुर्याउन सहज भएको छ । विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको विकले गुनासो पोखे ।

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुललगायतका आधा दर्जन बढी गाउँ पर्छन् । यी कुनै पनि गाउँमा विद्युत्को पहुँच छैन । निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताए । उनले गाउँपालिकाले यहाँका स्थानीयवासीका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको जानकारी दिए ।

अहिले यहाँ कक्षा ५ सम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ । स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको गौतमको भनाइ छ । बिजुलीकाे पहुँच विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उनले बताए ।


Read Previous

अरुको नामको मोबाइल नम्बर प्रयोग गर्दा समस्या: टेलिकम

Read Next

फाइभजी मोबाइल नेटवर्कको परीक्षण माघमा

Leave a Reply

Your email address will not be published.