Nepal Purbadhar

चालू वर्ष सुख्खा याममा ९० करोड युनिटसम्म विद्युत आयात हुने


काठमाडौं । बर्खाभर ठूलो परिमाणमा विद्युत निर्यात गरेको नेपाल विद्युत प्राधिकरणले आन्तरिक माग व्यवस्थापन मिलाउन आगामी पुसदेखि आयात सुरु गर्ने भएकाे छ । नदी तथा खोलाको प्रवाहमा आधारित जलविद्युतगृहहरूको विद्युत उत्पादन क्षमता घट्दै गएको हुँदा आपूर्ति व्यवस्थापन सहज राख्न अबको करिब २ सातापछिबाट विद्युत आयात सुरु गरिने भएको हो ।

चिसो बढेर हिउँ पर्ने क्रम सुरु भएसँगै आन्तरिक उत्पादन घट्दै जाँदा प्रसारण प्रणालीमा अपुग विद्युत सधैंको वर्षमा जस्तै आयात गरेर माग व्यवस्थापन गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले यो वर्ष गत वर्षभन्दा कम परिमाणमा विद्युत आयात गरिने बताए ।

‘गत वर्ष सुख्खा यामभरी १ अर्ब ५० करोड युनिट विद्युत आयात गरेर माग व्यवस्थापन गरिएको थियो,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘यो वर्ष ७० करोड युनिटदेखि अधिकतम ९० करोड युनिटसम्म मात्रै आयात गरे हाम्रो प्रसारण प्रणाली सञ्चालन गर्न पुग्नेछ ।’ उनले नेपालकोतर्फबाट गत जेठदेखि अहिलेसम्म भएको निर्यातको तुलनामा आयात परिमाण कम हुने बताए ।

प्राधिकरणले प्रसारण प्रणालीमा अपुग विद्युत पुसदेखि मध्य जेठसम्म आयात गरेर आपूर्ति व्यवस्थापन मिलाउने गरेको छ । करिब साढे ५ महिना आयात गरेर विद्युत माग व्यवस्थापन गर्नुपरे पनि आगमी वर्ष मध्य जेठबाटै ५ सय मेगावाट बढी विद्युत भारतीय बजारमा पठाउन सुरु गरिने घिसिङले बताए ।

‘यो वर्ष सुख्खा यामको विद्युत माग व्यवस्थापन गर्न भारतको विद्युतमा भर पर्नुपर्ने बाध्यता छ । चालू वर्षमा सम्पन्न हुने जलविद्युत आयोजना प्रसारण प्रणालीमा आउँदा आगामी वर्षदेखि हामी सुख्खा यामको माग आन्तरिक उत्पादनबाटै व्यवस्थापन गर्न सक्ने अवस्थामा पुग्न पनि सक्छौं’ उनले भने ।

हरेक वर्ष माग र आपूर्तिबीचको सन्तुलन कायम गर्न सुख्खा याममा अहिले पनि विद्युत आयात गर्नुपर्ने बाध्यता प्राधिकरणलाई छ । विद्युत प्राधिकरणले गत आर्थिक वर्ष (२०७८/७९) मा ११ अर्ब ५८ करोड रुपैयाँ बराबरको विद्युत आयात गरेर आन्तरिक माग व्यवस्थापन गरेको थियो । यो आर्थिक वर्ष २०७७/७८ को तुलनामा भने १० अर्ब २४ करोड रुपैयाँ कम थियो ।

आर्थिक वर्ष २०७७/७८ २ अर्ब ८० करोड ६० लाख युनिट विद्युत आयात हुँदा २१ अर्ब ८२ करोड रुपैयाँ भारत गएको थियो । चालू वर्ष सुख्खा याममा आयात परिमाण ९० करोड युनिटभन्दा नबढ्ने प्राधिकरणको दाबी छ । माथिल्लो तामाकोसीको ४५६ मेगावाटसहित निजी क्षेत्रका दर्जनौं जलविद्युत आयोजना प्रसारण प्रणालीमा थपिएकाले सुख्खा यामको विद्युत आयात परिमाण घट्दै गएको प्राधिकरणले जनाएको छ ।

Facebook Comments

Read Previous

अर्थतन्त्रका चुनौतीका बारे सिबिफिन र आईएमएफबीच छलफल

Read Next

माईधार-दोमुखा सडक कालाेपत्रै हुँदै,पूर्वाधार थपिँदा पर्यटकको आकर्षण बढ्दो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar