काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवास्थित २२.१ मेगावाटको चिलिमे जलविद्युत केन्द्रको विद्युत पनि भारतीय बजारमा निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले बिहीबारबाट चिलिमेको २१.४४ मेगावाट विद्युत इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री गर्न सुरु गरेको हो ।
भारतले कात्तिक १४ गते सोमबार (३१ अक्टोबर २०२२) विद्युत निर्यात गर्न गरेको प्रस्ताव स्वीकृति गरेसँगै चिलिमेको विद्युत पठाउन सुरु गरेको प्राधिकरणका प्रवक्ता एवं प्रणाली सञ्चालन विभागका निर्देशक सुरेशबहादुर भट्टराईले बताए । उनका अनुसार चिलिमेले दैनिक उत्पादन गर्ने परिमाण अनुसारको विद्युत भारतीय बजारमा निर्यात हुनेछ ।
‘हामीले बुधबार स्वीकृति दिएको पत्र प्राप्त गरेपछि सबै प्रकृया पूरा गरेर विद्युत निर्यात गर्न सुरु गरेका छौं,’ उनले भने, ‘अब उताबाट एनटिपिसी विद्युत व्यापार निगम (एनभिभिएन) ले चिलिमेको विद्युत कुन समयमा कति मूल्यमा बिक्री भयो भन्ने तथ्यांक पठाउनेछ ।’
प्राधिकरणले भदाैमा चिलिमेसहित ४ जलविद्युत केन्द्रकाे १११ मेगावाट विद्युत भारतीय बजारमा प्रतिस्पर्धि मूल्यमा बिक्री गर्नका लागि प्रस्ताव गरेको थियो । चिलिमेको हकमा अहिले प्राप्त गरेको विद्युत निर्यातको अनुमति २०८० साल बैशाख १७ गते (अप्रिल ३० २०२३) सम्मका लागि मात्र भएको प्राधिकरण विद्युत व्यापार विभागका निर्देशक प्रबल अधिकारीले बताए ।
‘चिलिमेको विद्युत निर्यात गर्न अहिले पाएको स्वीकृति ६ महिनाका लागि हो,’ उनले भने,‘त्यसपछि फेरि नवीकरण गर्नुपर्छ ।’ उनले प्रस्ताव गरेको ३ महिनापछि स्वीकृति मिले पनि अब बढीमा एक महिनामात्रै नेपालको विद्युत भारतीय बजारमा पठाउन सकिने बताए ।
चिलिमेले स्वीकृति पाएसँगै भारतको आइएक्स बजारमा विद्युत निर्यात गर्ने जलविद्युतगृहको संख्या ७ पुगेको छ । जडित क्षमता पनि ३८५.४४ मेगावाट पुगेको छ । नेपालले २०७९ जेठ १९ गतेबाट आइएक्स बजारमा विद्युत निर्यात गर्न सुरु गरेको थियो ।
प्राधिकरणले चिलिमेभन्दा अघि ५२.४ मेगावाटको लिखु–४ को ५१ मेगावाट, १४४ मेगावाटको कालीगण्डकी ‘ए’ को १४० मेगावाट, मध्यमर्स्याङ्दीको ६८ मेगावाट, मर्स्याङ्दीको ६७ मेगावाट, त्रिशूली तथा देवीघाट गरी २ जलविद्युत केन्द्रको ३७.७ मेगावाट विद्युत निर्यात गर्दै आइरहेको छ ।
प्राधिकरणले अहिलेसम्म भारतीय बजारमा विद्युत बिक्री गरेर करिब ८ अर्ब रुपैयाँ आम्दानी गरेको छ । निजी क्षेत्रबाट सञ्चालित ४२ मेगावाटको मिस्ट्री खोला, २४.२ मेगावाटको लिखु खोला ‘ए’, २३.५ मेगावाटको सोलु खोलाको विद्युत निर्यात गर्न गरेको प्रस्ताव भने अहिलेसम्म स्वीकृति भएको छैन ।
सुख्खा याम सुरु भएसँगै अब नदी तथा खोलामा पानीको बहाव कम हुँदा विद्युत उत्पादनमा कमी आई विद्युत निर्यात परिमाणमा पनि कमी आउने अघिकारीले बताए । ‘हामीले अधिकतम परिमाणमा विद्युत निर्यात गर्न सक्ने भनेको नै हाम्रा विद्युतगृह पूर्ण क्षमतामा चलेको समयमा हो । सुख्खा याम सुरु भएसँगै निर्यात घट्दै जानेछ’ उनले भने ।
उनले सुख्खा याममा देशभित्रको आन्तरिक उत्पादनले माग व्यवस्थापन गर्न नसकिने हुँदा मंसिर दोस्रो साताबाट विद्युत निर्यात बन्द गरेर आयात सुरु गर्नु पर्ने अवस्था आउने बताए । प्राधिकरणले यो वर्ष सुख्खा याममा विद्युतको आन्तरिक माग व्यवस्थापन गर्न २ सय देखि ५ सय मेगावाट विद्युत भारतबाट निर्यात गर्नु पर्ने अवस्था आउने प्रक्षेपण गरेको छ ।