काठमाडौं । साढे १४ बर्षपछि नेपाल-बंगलादेश जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्ने भएको छ । करिब डेढ दशकपछि आगामी बिहीबार (साउन १२ गते) काठमाडाैंमा दुवै देशबाट विज्ञ समूह सम्मेलित जलस्रोत समितिको सचिवस्तरीय संयुक्त बैठक बस्न लागेकाे हाे ।
बैठकमा जलस्रोतको उपयोग तथा बाढी नियन्त्रण सम्बन्धी मुख्य एजेण्डामा छलफल हुँदैछ । बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राई तथा बंगालादेशकाेतर्फबाट त्यहाँकाे जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कबिर विन अनवारले नेतृत्व गर्दैछन् ।
साढे १४ बर्षपछि दुई देशबीच जलस्रोतका मुद्दाबारे छलफल गर्न बैठक बस्न लागेको मन्त्रालयकाे जलस्रोत महाशाखा प्रमुख डा.महेश्वर श्रेष्ठले जानकारी दिए । उनका अनुसार जलस्राेतकाे उपयाेग तथा बाढी नियन्त्रणका विषयमा पनि बैठकमा छलफल हुनेछ ।
बैठकमा नेपालको तर्फबाट डा. श्रेष्ठसहित, विद्युत विकास विभागका महानिर्देशक संदीप देव, जल तथा मौसम विज्ञान विभागका महानिर्देश कमलराम जोशी, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक शुशीशचन्द्र आचार्य लगायत सहभागी हुँदैछन् ।
बैठकमा जलस्रोत क्षेत्रको विकास, जलवायु परिवर्तनको मुद्दा, जलस्रोतको अध्ययन र अनुसन्धान, बाढी नियन्त्रण एवं जल तथा मौसम सम्बन्धी तथ्यांकहरूको आदान-प्रदानका विषयमा पनि छलफल हुने मन्त्रालयले जनाएको छ ।
पछिल्लो पटक सन् २००८ को फेब्रुअरी २६ देखि २९ सम्म जलस्राेत समितिकाे सचिवस्तरीय संयुक्त बैठक बसेको थियो ।