Nepal Purbadhar

चार वर्ष बित्दा पनि कालोपत्र भएन हरिचौर-मल्म-पाण्डवखानी सडक


बागलुङ। दुई वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण थालिएको बागलुङको हरिचौर-मल्म-पाण्डवखानी सडक चार वर्ष बित्दा पनि अधुरै रहेको छ। एक निर्वाचन क्षेत्र एक रणनीतिक सडक कार्यक्रमअन्तर्गत निर्माण भइरहेको उक्त सडकको कालोपत्र अझै हुन नसकेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ।

विसं २०७९ भदौमा २५ करोड २० लाख रुपैयाँमा ठेक्का सम्झौता भएको सडक २०८१ भदौभित्र सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समय सकिएको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।

सडक निर्माणमा भइरहेको ढिलाइका कारण स्थानीयले सास्ती खेप्नुपरेको छ। स्थानीयको निरन्तर खबरदारी र जनगुनासोप्रति निर्माण व्यवसायीले बेवास्ता गर्दै आएको गलकोट नगरपालिका-७ मल्मका वडाध्यक्ष राजबहादुर थापाले बताए।

सडक निर्माणको जिम्मा वल्डवाइड/लोपूर्ण जेभीले पाएको थियो। निर्माणमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै स्थानीयले गत कात्तिकमा निर्माण व्यवसायीविरुद्ध आन्दोलनसमेत गरेका थिए।

रणनीतिक महत्वको सडक निर्धारित समयमै सम्पन्न हुन नसक्दा स्थानीयवासीको आवागमन तथा दैनिक जनजीवन प्रभावित बनेको छ।


Read Previous

घोप्टेभिरको पहिरो हटाइयो, पृथ्वी राजमार्गमा दुईतर्फी यातायात सञ्चालन

Read Next

पहिरो हटे पनि घोप्टेभीरमा सवारी जाम, तिहारका यात्रु अलपत्र (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar