
फाइल तस्बिर।
चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २:१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सडक एकतर्फी सञ्चालन हुँदा सवारीसाधनलाई आलोपालो गरी पठाइएको थियो ।
नौबिसे-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार करिब ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो ।
पहिरो खसेको स्थानको भित्तो नकाटिएको भए पनि माथिबाट आफैँ पहिरो खसेको उनले बताए । उक्त स्थान कमजोर रहेकाले जुनसुकै बेला पुनः पहिरो खस्न सक्ने जोखिम भने कायमै रहेको छ ।

