
काठमाडौ। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। दुवै कोषमा गरी मौज्दात रकम १८ अर्ब ९ करोड रुपैयाँ नाघेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्म विभिन्न बैंकका खातामा कुल १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ रुपैयाँ मौज्दात रहेको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न ९ ओटा वाणिज्य बैंकमा १३ अर्ब ४८ करोड ४ लाख २९ हजार ६४ रुपैयाँ मौज्दात रहेको छ।
त्यसैगरी, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा गरी ३ करोड ४ लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ। बाढी प्रभावित क्षेत्रको उद्धार तथा राहतका लागि कोषमा सहयोग जुट्ने क्रम जारी रहेको कार्यालयले जनाएको छ।



