Nepal Purbadhar

प्रचण्डले गगन र रविलाई भने- ‘क्रमभंग गर्दै जानुस्, अनि बन्छ नेपाल’


काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक रूपमा ‘क्रमभंग’ गर्दै अघि बढ्न सुझाव दिएका छन्।

काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले आफूले विगतमा पटकपटक राजनीतिक क्रमभंगता गर्दै आएको स्मरण गरे। अहिले आफूलाई क्रमभंग गर्न केही कठिन हुन थालेको भन्दै उनले अब गगन र रविको पालो भएको बताए।

‘गगनजीले जुन क्रमभंगता गर्नुभयो, पहिले पहिले मैले गर्ने गरेको थिएँ। शान्ति प्रक्रियालाई युद्धमा लान्थेँ, युद्धलाई शान्तिमा ल्याउँथेँ, शान्तिलाई संविधानमा लान्थेँ, संविधानलाई गणतन्त्रमा,’ प्रचण्डले भने, ‘अब म सायद क्रमभंग गर्न अलि गाह्रो भएको हो कि। अब पालो गगनजीहरूको हो, तपाईं क्रमभंग गर्दै जानुस्। अब पालो रविजीहरूको हो, तपाईंले अझै क्रमभंग गर्न बाँकी छ। तपाईंले पनि क्रमभंग गर्नुस् अनि बन्छ नेपाल।’

प्रचण्डले गगन थापा र रवि लामिछाने दुवै आफ्नो मन्त्रिपरिषद्का सदस्य रहेको स्मरण गर्दै उनीहरूमा राजनीतिक चेतना रहेको बताए। उनीहरूप्रति आफूमा अहिले पनि माया, भरोसा र सम्मान रहेको उनको भनाइ थियो।

उनले देश, लोकतन्त्र र संविधान अप्ठेरो अवस्थामा रहेको पनि बताए। सरकारका कतिपय अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले देश स्वेच्छाचारितातर्फ जाने खतरा पैदा भएको उनले दाबी गरे।

‘देश अप्ठेरोमा छ। लोकतन्त्र नै अप्ठेरोमा छ। संविधान पनि अप्ठेरोमा छ। अहिलेका सरकारका कतिपय अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले स्वेच्छाचारितातिर देश जाने हो कि भन्ने गम्भीर खतरा पैदा भएको छ,’ उनले भने।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै प्रचण्डले शान्ति सम्झौताका बाँकी विषय टुंग्याउन आवश्यक रहेको बताए। ती विषय समाधान हुन नसके देश थप अप्ठेरो अवस्थामा जानसक्ने उनको भनाइ थियो।


Read Previous

बेनेलीको दशैं अफर: एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा

Read Next

‘सरकार ढल्दैन, सरकार ढल्छ भन्नेहरू बेहोस भएर ढल्छन्’, हल्ला गर्न जरूरी छैन- लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar