Nepal Purbadhar

ग्यास आपूर्ति सहज बनाउन निरन्तर प्रयास भइरहेको छ : मन्त्री साह

अभावको बेला ग्यास पाएपछि काँधमा बोकेर गन्तव्यतर्फ जाँदै उपभोक्ता, फाइल तस्बीर।


काठमाडौँ, ५ असोज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले ग्यास आपूर्ति सहज बनाउन तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानको योजना बनाएर मन्त्रालयले निरन्तर काम गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री साहले ग्यास आपूर्ति सामान्य बनाउन आपूर्ति प्रक्रियाका सबै चरणको अध्ययन गरी सुधारका उपाय अघि बढाइएको बताए।

उनका अनुसार भन्सार जाँचपासको समय घटाउन अर्थ मन्त्रालय, सडकमा हुने जाम व्यवस्थापनका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ। नियमित रूपमा आउने १०० बुलेट ग्यासलाई अस्थायी रूपमा एक सातासम्म दैनिक १६० बुलेट पुर्‍याउन कूटनीतिक पहलसमेत भइरहेको उनले जानकारी दिए।

काठमाडौं उपत्यकामा दैनिक ५० हजार सिलिण्डर आपूर्ति गर्ने प्रतिबद्धता ग्यास उद्योगीबाट प्राप्त भएको भन्दै मन्त्री साहले त्यसको कार्यान्वयन दैनिक तथ्याङ्कमार्फत अनुगमन भइरहेको बताए।

ग्यास आपूर्ति व्यवस्थालाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन मन्त्रालयभित्र आन्तरिक समिति गठन गरिएको उनले जानकारी दिए। साथै, कृत्रिम अभाव, कालोबजारी र अवाञ्छित मूल्यवृद्धि नियन्त्रणका लागि संयुक्त तथा आकस्मिक बजार अनुगमन टोली परिचालन गरिएको बताए।

सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत वर्षभरि १९३ ओटा सुपथ मूल्य पसल सञ्चालन गरेको र चाडपर्व लक्षित थप सुपथ मूल्य पसल सञ्चालनको तयारी भइरहेको मन्त्री साहले बताए।


Read Previous

चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग

Read Next

जीर्ण पुलले स्थानीय र पर्यटकलाई सास्ती, असोजभित्रै बेलिब्रिजको ठेक्का

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar