Nepal Purbadhar

प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार, तर नपाउने

एआई तस्बीर।


काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा १ हजार रुपैयाँ सहयोग गर्ने एक ग्राहकको नाम करदाता प्रोत्साहन कार्यक्रमको १ लाख रुपैयाँ उपहार विजेतामा परेको छ। तर, राहत कोषमा गरिएको भुक्तानी उपहार कार्यक्रमका लागि योग्य नहुने भएकाले ती ग्राहकले १ लाख रुपैयाँ प्राप्त गर्ने छैनन्।

आन्तरिक राजस्व विभागले भदौ महिनाका करदाता प्रोत्साहन कार्यक्रमका विजेता घोषणा गर्ने क्रममा उक्त ग्राहकको कुपन नम्बर ०४२६१८४७७६२० लाई १ लाख रुपैयाँको विजेताका रूपमा छनोट गरेको थियो।

विभागका अनुसार प्रधानमन्त्री राहत कोषमा अनलाइनमार्फत भुक्तानी गर्दा प्रणालीले स्वतः कुपन नम्बर ‘जेनेरेट’ गरेको थियो। सोही आधारमा उक्त कुपन नम्बर उपहारका लागि छनोट भएको हो।

तर, करदाता प्रोत्साहनसम्बन्धी कार्यविधिमा सरकारी कोषमा गरिएको भुक्तानीलाई उपहार कार्यक्रममा सहभागी गराउन नमिल्ने व्यवस्था छ। राहत कोषमा सहयोग गर्दा कुनै कर दायित्व नहुने भएकाले त्यस्तो कारोबार उपहारका लागि योग्य नहुने विभागले जनाएको छ।

त्यसैले कुपन नम्बर विजेतामा परे पनि उक्त कुपन नम्बर भएका व्यक्तिलाई १ लाख रुपैयाँ उपहार रकम उपलब्ध नगराइने विभागले स्पष्ट पारेको छ।

करदाता प्रोत्साहन कार्यविधिअनुसार टेलिफोन, विद्युत्, इन्टरनेट, सवारीसाधन, हवाई टिकट, व्यवसायिक खरिद तथा सरकारी निकायबाट जारी हुने बिजकलगायतका कारोबारलाई उपहार कार्यक्रममा सहभागी गराइँदैन।

विभागले भदौ १ देखि ३१ गतेसम्म भएका कारोबारलाई समेटेर भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा गरेको हो। यसपटक दुई जनाले १०/१० लाख रुपैयाँको बम्पर उपहार तथा ३१ जनाले एक/एक लाख रुपैयाँका दरले उपहार प्राप्त गरेका छन्।

बाढीका कारण नियमित रूपमा १५/१५ दिनमा घोषणा हुने कार्यक्रम प्रभावित भएपछि विभागले भदौ महिनाको उपहार एकैपटक घोषणा गरेको हो।


Read Previous

चिलिमेमा फेला परेका पाँच कर्मचारीको शव परिवारजनलाई बुझाईयो

Read Next

सरकारी निर्णयमा अब डिजिटल प्रणाली अनिवार्य, ढिलाइ भए फाइल २४ घण्टामै माथिल्लो तहमा पुग्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar