Nepal Purbadhar

बाढीले क्षतिग्रस्त १२ झोलुङ्गे पुलको मर्मत तीव्र, असोज २० सम्म सञ्चालनमा ल्याइने


काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट त्रिशूली-मुग्लिन करिडोरमा क्षतिग्रस्त झोलुङ्गे पुलहरूको मर्मत कार्य सरकारले तीव्र बनाएको छ।

क्षतिग्रस्त पुलमध्ये १२ ओटा झोलुङ्गे पुलको मर्मत सुरु भइसकेको छ। ती पुलहरूलाई असोज २० गतेभित्र सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको छ।

मर्मत सुरु भएका पुलमा धादिङका कालिकास्थान, मालिङ्गा मझुवाटार दोभान, महादेवा मास्टर, चिरौंदी खोला, शितलबजार क्युरेनीटार र बेल्खु भुतिया झोलुङ्गे पुल रहेका छन्।

त्यसैगरी नुवाकोट र धादिङ जोड्ने केउरेनी गहते, पिमलटार जागाराम, कोतपु कल्लेरी, फोस्रेटार र फिलिङ झोलुङ्गे पुल तथा गोरखा र धादिङ जोड्ने बादरे झोलुङ्गे पुलको समेत मर्मत भइरहेको छ।

यसका साथै बाढीबाट प्रभावित थप ८ ओटा झोलुङ्गे पुलको मर्मतका लागि प्राविधिक तथा प्रशासनिक तयारी अघि बढाइएको छ। मर्मतका लागि आवश्यक डेकलगायत सामग्री खरिद गर्न विभिन्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ। पहिलो चरणका सामग्री कार्यस्थलमा आपूर्ति भइसकेको छ भने दोस्रो चरणका स्टिल पार्ट्स खरिद प्रक्रिया अघि बढाइएको छ।

यस्तै, मर्मत गर्न नसकिने गरी क्षति भएका ३३ ओटा झोलुङ्गे पुलको पुनःनिर्माणका लागि भदौ १७ गते बोलपत्र आह्वान गरिएको छ। पुल निर्माण तथा मर्मतका लागि आवश्यक लठ्ठा, ‘बुलडग ग्रिप्स’ लगायतका सामग्री खरिद गर्न सरकारले बोलपत्र आह्वान गरेको हो।

बाढीपछि क्षतिग्रस्त पुलहरूको मर्मत तथा पुनःनिर्माणसँगै त्रिशूली-मुग्लिन करिडोरमा स्थानीय बासिन्दाको आवतजावत सहज बनाउने प्रयास भइरहेको छ।


Read Previous

गत आवमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार, सात खर्ब २० अर्बको कारोबार

Read Next

खरानीबाट उठ्दै छ डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (तस्बिर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar