
Trisuli flood, Bridge
काठमाडौं । सरकारले बाढी प्रभावित क्षेत्रमा क्षतिग्रस्त सडक सञ्जाललाई आगामी असोजभित्रै सञ्चालनमा ल्याउने गरी काम तीव्र पारेको छ। तत्कालका लागि वैकल्पिक सडक सञ्चालन तथा तुइन र झोलुङ्गे पुल जडानलाई प्राथमिकता दिएको सरकारले त्यसपछि पक्की सडक र पुल निर्माण अघि बढाउने भएको छ।
प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग भएको छलफलमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सडक तथा पुल निर्माणलाई तीव्रता दिन विभिन्न विषयगत आठ वटा कार्यदल गठन गरी काम अघि बढाइएको जानकारी दिए।
मन्त्री लम्सालले बाढी प्रभावित क्षेत्रमा सडक तथा पुल निर्माणका क्रममा दोहोरोपना हुन नदिन स्थानीय जनप्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमा समन्वय र सहजीकरण गर्न आग्रह गरे।
उनले काठमाडौंमै रहेका मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग प्रत्यक्ष छलफलमा जोडिएर आ–आफ्नो क्षेत्रका क्षतिग्रस्त पूर्वाधारको विवरण उपलब्ध गराउन, पुनर्निर्माणको योजना बनाउन, निर्माणमा समन्वय गर्न तथा त्यसको नियमित फलोअप गर्न स्थानीय जनप्रतिनिधिहरूलाई आग्रह गरे।
सरकारले प्रभावित क्षेत्रमा खानेपानी प्रणाली आगामी मंसिरसम्म पुनःस्थापना गर्ने लक्ष्यसहित काम गरिरहेको मन्त्री लम्सालले बताए। प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा लगायतका अन्य आवश्यक पूर्वाधार निर्माणको काम पनि अघि बढिरहेको उनले जानकारी दिए।
छलफलमा सहभागी नुवाकोटबाट प्रतिनिधिसभा सदस्यसमेत रहेका सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाहरूले घर निर्माण गरिदिने, ज्येष्ठ नागरिक तथा बालबालिकाको संरक्षण गर्ने लगायतका आश्वासन दिँदै हिँडिरहेको भन्दै त्यस्ता संस्थाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा मात्रै काम गर्नुपर्ने बताए।
उनले बाढी प्रभावित क्षेत्रमा कुनै पनि पीडित नछुट्ने गरी तथ्यांक संकलन गरेर सरकारलाई समयमै उपलब्ध गराउन जनप्रतिनिधिहरूलाई सुझाव दिए।
