Nepal Purbadhar

चिलिमे उद्धार अपडेट: ‘सुरुङबाट बाहिर चिसो हावा आयो, भित्र आवाज गयो’


काठमाडौं । रसुवाको चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र करिब १०५ मिटर गहिराइबाट चिसो हावा बाहिर आएको र सुरुङभित्र आवाज तथा इको सुनिएको जानकारी प्राप्त भएको छ।

नेपाली सेनाको उद्धार टोलीबाट केही बेरअघि प्राप्त जानकारीअनुसार सुरुङभित्र करिब १०५ मिटर भित्रबाट बाहिरपट्टि चिसो हावा आएको र हावाको दोहोरो बहावसमेत देखिएको छ।

उद्धारमा खटिएका अधिकारीका अनुसार सुरुङभित्र आवाज गएको र त्यसको इकोसमेत आएको जानकारी प्राप्त भएको छ। यसले सुरुङभित्र फसेको आशंका गरिएका व्यक्तिहरूको अवस्थाबारे थप आशा जगाएको छ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण चिलिमे जलविद्युत् आयोजनाको सुरुङ तथा विद्युत्गृह क्षेत्रमा कर्मचारी तथा मजदुर फसेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेनासहित नेपाली तथा विदेशी विज्ञको टोली परिचालन गरिएको छ।

उद्धार टोलीले सुरुङ छिचोलेर विद्युत्गृहभित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। विद्युत्गृहसम्म पुग्न अझै करिब २०० मिटर दूरी बाँकी रहेको जनाइएको छ।

विद्युत्गृह करिब ६० मिटर लामो, २५ मिटर अग्लो र २० मिटर चौडा रहेको बताइएको छ। विद्युत्गृहको माथिल्लो भागमा चामल, पानी, चिनी, चियालगायत खाद्य सामग्री तथा पर्याप्त प्रकाश दिन सक्ने ठूलो ब्याट्री बैंक रहेको जनाइएको छ।

विद्युत्गृहभित्र करिब ६ जना रहेको आकलन गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली र विदेशी टोली निरन्तर प्रयासरत छन्।

उद्धार कार्यलाई सहज बनाउन जलविद्युत्गृहभित्र जमेको लेदो हटाउने काम पनि जारी छ। त्यस्तै, स्याफ्रुबेँसीदेखि चिलिमे विद्युत्गृहको पोर्टलसम्म सडक निर्माणलाई तीव्रता दिइएको छ। सडक निर्माणका लागि आवश्यक थप अपरेटर, मेसिन तथा स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ।

आवश्यक स्थानमा सडक खुलाउन विस्फोटक पदार्थ प्रयोग गर्ने तयारीसमेत गरिएको छ।

यसैबीच धुन्चेतर्फको विद्युत् चिलिमे विद्युत्गृहसम्म पुर्‍याउन पाइलट वायर जोडिएको छ। ड्रोनमार्फत पाइलट वायर जोडिएको जनाइएको छ। धुन्चेको एबीसी केबुलबाट स्याफ्रुसम्म आवश्यक सामग्री हेलिकप्टरमार्फत ढुवानी गर्ने प्रबन्धसमेत मिलाइएको छ।

खोज तथा उद्धार कार्यमा नेपाल विद्युत् प्राधिकरणका पूर्वप्रमुख तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङसमेत खटिएका छन्।

सुरुङभित्रबाट चिसो हावा बाहिर आउनु तथा आवाज र इको सुनिनुले उद्धार टोलीलाई विद्युत्गृहभित्र फसेका व्यक्तिहरूको अवस्थाबारे थप आशावादी बनाएको छ। उद्धार टोलीले अब सुरुङमार्फत विद्युत्गृहसम्म पुग्ने प्रयासलाई तीव्रता दिएको छ।


Read Previous

बाढी प्रभावित क्षेत्रको उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Read Next

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar