
DCIM100MEDIADJI_0212.JPG
काठमाडौं। जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको प्रमुख निशानामा परेको भाटभटेनी सुपरमार्केट एक वर्षमै पुरानो व्यावसायिक लयमा फर्कने प्रयासमा छ।
देशकै ठूलो व्यापारिक चेन भाटभटेनीका २८ स्टोरमध्ये १२ ओटामा आगजनी भएको थियो भने ९ ओटामा तोडफोड तथा लुटपाट भएको थियो। आन्दोलनका क्रममा २१ ओटा स्टोरमा क्षति पुगेकोमा हालसम्म १७ ओटा स्टोर पुनः सञ्चालनमा आइसकेका छन्।
तोडफोड तथा लुटपाट भएका शाखाहरू यसअघि नै सञ्चालनमा आइसकेका थिए। आगजनीबाट ध्वस्त भएका १२ ओटामध्ये ८ ओटा पनि पुनः सञ्चालनमा आएका छन्। सुनसरीको धरान, काठमाडौंको नक्साल, मकवानपुरको हेटौंडा र झापाको दमक शाखा भने पुनः सञ्चालनको चरणमा छन्। यी शाखा असोज मसान्तसम्म सञ्चालनमा ल्याउने योजना भाटभटेनीको छ।
आन्दोलनका क्रममा उपत्यकाका महाराजगञ्ज, बौद्ध, कोटेश्वर, बालुवाटार वेयरहाउस र नक्साल शाखामा आगजनी भएको थियो। उपत्यकाबाहिर पोखरा, चितवन, हेटौंडा, बिर्तामोड, दमक, विराटनगर र धरान शाखा पनि आगजनीबाट ध्वस्त भएका थिए।
त्यस्तै, कलंकी, ठिमी, बालाजु, जनकपुर, बुटवल, वीरगञ्ज, धनगढी, इटहरी र भैरहवाका शाखामा आगजनी नभए पनि तोडफोड तथा लुटपाट भएको थियो। टोखा, सातदोबाटो, अनामनगर, सानो गाउँ, वल्र्ड ट्रेड सेन्टर, पाटन र नेपालगञ्जस्थित स्टोर भने आन्दोलनका क्रममा सुरक्षित रहेका थिए।
आन्दोलनपछि भाटभटेनीले क्षतिग्रस्त शाखाहरूको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिँदै व्यवसायलाई पुरानै लयमा फर्काउने प्रयास गरिरहेको छ। जेन-जी आन्दोलनका कारण भौतिक संरचनामा ठूलो क्षति पुगेका साथै वित्तीय व्यवस्थापन र व्यवसाय विस्तारमा समेत तत्कालीन दबाब सिर्जना भएको थियो।
तर, एक वर्षको अवधिमै कम्पनीले क्षतिग्रस्त शाखाहरू पुनः सञ्चालनमा ल्याउँदै नियमित व्यावसायिक गतिविधिलाई निरन्तरता दिएको छ।
भाटभटेनीले पुनर्निर्माणसँगै आफ्नो सञ्चालन मोडलमा समेत परिवर्तन गर्ने योजना अघि बढाएको छ। कम्पनीले ‘अन्तर्राष्ट्रिय मोडल’मा स्टोर सञ्चालन गर्ने योजनाअन्तर्गत भक्तपुरको राधेराधे शाखाबाट रात्रिकालीन सेवा समेत सुरू गरेको छ।
