Nepal Purbadhar

तिब्बतको बाढी तराईसम्म : सुस्तावासीलाई सुरक्षित स्थानमा सारियो


नवलपरासी । तिब्बतबाट हिमाली जिल्ला रसुवा हुँदै आएको भीषण बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि पश्चिम नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ।

हालसम्म ९ सय ५० जनालाई सुस्तावारि रहेको बीपी माध्यमिक विद्यालयमा स्थानान्तरण गरिएको छ भने एक सयभन्दा बढीलाई सुस्ता गाउँकै सुरक्षित स्थानमा राखिएको छ।

स्थानान्तरण गरिएका नागरिकका लागि विद्यालयमै खाना र बासको व्यवस्था गाउँपालिकाले गर्ने सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरीले बताइन्। केही स्थानीय भने आफन्तको घरमा बस्न पुगेका छन्।

नारायणी नदीमा पटकपटक बाँध फुट्ने र डुबानको समस्या झेल्दै आएका सुस्तावासी नदीमा पुनः बाढीको बहाव बढेपछि त्रसित बनेका छन्।

सुस्ता क्षेत्रको अवस्थाबारे प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालसहित सुरक्षा निकायका प्रमुखको टोलीले अनुगमन गरेको छ। जोखिमलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका सबै ढोका खोल्ने तयारी गरिएको प्रजिअ नेपालले बताए।

भोटेकोशी नदीमा आएको बाढी त्रिशूली हुँदै नारायणी नदीमा पुगेपछि नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।


Read Previous

भोटेकोशी बाढी अपडेट: दुई जलविद्युत् आयोजनाका ७८ जना सम्पर्कविहीन

Read Next

‘तपाईंहरू एक्लो हुनुहुन्न, राज्य सम्पूर्ण साधन-स्रोतसहित साथमा छ’: प्रधानमन्त्री बालेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar