
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नेपाल विद्युत् प्राधिकरण, प्राधिकरणका सहायक कम्पनी तथा निजी क्षेत्रबाट सञ्चालित १२ ओटा विद्युत् उत्पादन केन्द्र बन्द भएका छन्। ती केन्द्र बन्द हुँदा कुल ४३१.१ मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिरिएको छ।
प्राधिकरणका अनुसार बाढीका कारण रसुवागढी जलविद्युत् आयोजना १११ मेगावाट, सालासुंगी (साञ्जेन) ७८ मेगावाट, माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट, चिलिमे २२ मेगावाट, लाङटाङ २० मेगावाट, माथिल्लो त्रिशूली–३ ए ६० मेगावाट, माथिल्लो मैलुङ १४.८ मेगावाट, मैलुङ ५ मेगावाट, त्रिशूली २४ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणको २५ मेगावाटको सोलार आयोजना बन्द भएका छन्।
त्यस्तै, उक्त नदी बेसिनमा निर्माणाधीन प्राधिकरणका सहायक कम्पनी तथा निजी प्रवर्द्धकका १५ ओटा आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। ती आयोजनाको कुल क्षमता करिब ४७० मेगावाट रहेको छ।
दर्जनौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन
बाढीपछि विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् संरचनामा कार्यरत दर्जनौँ कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका छन्।
निर्माणाधीन त्रिशूली–३ बी आयोजनाको साइटमा कार्यरत २१ जना कर्मचारी सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। चिलिमे जलविद्युत् केन्द्रको पावर प्लान्ट क्षेत्रमा रहेका छ जना तथा आवास क्षेत्र आसपासका एक जना पनि सम्पर्कमा छैनन्।
त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीअन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रही त्रिशूली–३ बीको साइटमा खटिएका ११ जना, त्रिशूली–३ ए जलविद्युत् केन्द्रको पावर हाउसमा मर्मत कार्यमा संलग्न ४५ जना कर्मचारी तथा कामदार पनि सम्पर्कविहीन छन्।
प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत् केन्द्रमा ५१ जना सम्पर्कमा रहेका छन् भने अन्य केही कर्मचारी सम्पर्कविहीन छन्। त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा कार्यरत एक–एक जना कर्मचारी पनि सम्पर्कबाहिर छन्।
त्यसैगरी, रसुवा वितरण केन्द्रअन्तर्गत चिलिमे पावर हाउसको स्वीचयार्डमा कार्यरत एक जना तथा गोटागन्तीका मिटर रिडर पनि सम्पर्कमा नरहेको प्राधिकरणले जनाएको छ।
त्रिशूली २२० केभी ३ बी हबमा कन्ट्र्याक्टरतर्फबाट कार्यरत १६ जना तथा रसुवागढी जलविद्युत् केन्द्रमा विभिन्न कन्ट्र्याक्टरमार्फत मर्मत तथा निर्माण कार्यमा खटिएका ९२ जना समेत सम्पर्कविहीन छन्।
रसुवामा विद्युत् पूर्ण अवरुद्ध
बाढीका कारण रसुवा जिल्लामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। नुवाकोट, धादिङ र गोरखामा भने विद्युत् सेवा आंशिक रूपमा अवरुद्ध रहेको प्राधिकरणले जनाएको छ।
धादिङको जहरे ३३ केभी सबस्टेसनमा करिब पाँच फिट लेदो जमेको छ। डोजर प्रयोग गरी लेदो हटाउने काम भइरहेको छ। विभिन्न स्थानमा ११ केभीका पोल तथा ट्रान्सफर्मरमा समेत क्षति पुगेको छ।
प्रसारण प्रणालीतर्फ त्रिशूलीस्थित २२० केभी ३ बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। चिलिमे २२० केभी हबको टावर अवरुद्ध भएपछि उक्त संरचना बन्द भएको छ।
त्यस्तै, समुद्रटार–त्रिशूली १३२ केभी, चिलिमे–त्रिशूली ६६ केभी, चिलिमे हब–त्रिशूली ३ बी हब–मातातीर्थ २२० केभी तथा त्रिशूली–बालाजु ६६ केभी प्रसारण लाइन अवरुद्ध भएका छन्। केही अन्य प्रसारण लाइनका टावरमा समेत समस्या देखिएको प्राधिकरणले जनाएको छ।
उद्धार र विद्युत् पुनःस्थापनाको काम तीव्र
प्राधिकरणका कार्यकारी निर्देशकसहितको टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किएको छ। जोखिममा रहेका कर्मचारी तथा सर्वसाधारणलाई सुरक्षित स्थानमा स्थानान्तरण र उद्धार गर्न अर्को टोली प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
सम्पर्कविहीन रहेका उत्पादन तथा प्रसारण संरचनामा सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको छ। स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह, स्वास्थ्य संस्था तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी सम्पर्कविहीन कर्मचारी तथा कार्यक्षेत्रमा रहेकाको विवरण संकलन गर्दै खोज तथा उद्धार जारी राखिएको प्राधिकरणले जनाएको छ।
वैकल्पिक व्यवस्थाबाट सञ्चालन गर्न सकिने क्षेत्रमा विद्युत् प्रणाली आंशिक रूपमा सञ्चालन गर्ने प्रयास भइरहेको छ। सिन्धुपाल्चोकतर्फ समुद्रटार क्षेत्रमा प्रणाली सञ्चालनमा ल्याएर चौघोडा सबस्टेसन सञ्चालन गर्ने प्रयास भइरहेको छ।
त्यस्तै, गजुरीदेखि गल्छीसम्मका क्षेत्रमा धादिङबेँसी सबस्टेसनमार्फत विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। सम्भव भएका अन्य क्षेत्रमा पेट्रोलिङ गरी मर्मतपछि लाइन सञ्चालनमा ल्याउने काम भइरहेको प्राधिकरणले जनाएको छ।
सम्पर्कविहीन कर्मचारी तथा सर्वसाधारणको खोज तथा उद्धारका लागि प्राधिकरणले १५ ओटाभन्दा बढी सवारीसाधन प्रभावित क्षेत्रमा परिचालन गरिसकेको छ।
राहत तथा उद्धारका लागि सहायक प्रशासकीय अधिकृत रामशरण उप्रेती (९८४१३०६६७८) र सहायक इन्जिनियर टंक पौडेल (९८५१४७४५५५) लाई सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ।
बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध रहेकाले प्रणालीलाई सञ्चालनमा राख्न विद्युत् प्रणाली सञ्चालन विभागलाई आवश्यक निर्देशनसमेत दिइएको प्राधिकरणले जनाएको छ।
