
काठमाडौं। चिनियाँ सवारी निर्माता डोङफेङको प्रिमियम विद्युतीय सेडान ईपाइ ००७ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि डोङफेङ ब्रान्डको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मार्फत यो सेडान सार्वजनिक गरेको हो।
ईपाइ ००७ मा ५६.८३ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा सीएलटीसी परीक्षणअनुसार ५३० किलोमिटरसम्म रेन्ज दिन्छ।
रियर ह्वील ड्राइभ (आरडब्लूडी) प्रणालीमा आधारित यो सेडानमा १६० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरिएको छ। मोटरले अधिकतम ३१० एनएम टर्क उत्पादन गर्छ। गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.८ सेकेन्डमा पूरा गर्ने कम्पनीको दाबी छ।
ईपाइ ००७ को ५३० प्रो भेरियन्टमा ५६.८३ किलोवाट आवर ब्याट्री र ५३० किलोमिटर सीएलटीसी रेन्ज उपलब्ध छ। पाँच सिट क्षमताको यो सेडानको लम्बाइ ४,८८० मिलिमिटर र ह्वीलबेस २,९१५ मिलिमिटर रहेको छ।
सस्पेन्सनतर्फ अगाडि म्याकफर्सन इन्डिपेन्डेन्ट र पछाडि मल्टिलिंक इन्डिपेन्डेन्ट सेटअप दिइएको छ। गाडीमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ। कम्पनीका अनुसार ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्छ।
सुरक्षाका लागि अगाडि, साइड तथा कर्टेन एयरब्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक र अटो होल्डलगायत सुविधा छन्।
ईपाइ ००७ मा एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस) अन्तर्गत अगाडि टक्करको चेतावनी, स्वचालित आपत्कालीन ब्रेकिङ, अनुकूलनशील क्रुज कन्ट्रोल, ट्राफिक जाम असिस्ट, लेन डिपार्चर वार्निङ, लेन किपिङ असिस्ट, लेन सेन्टरिङ असिस्ट तथा ब्लाइन्ड स्पट डिटेक्सनलगायत सुविधा उपलब्ध छन्।
इन्टेरियरमा १५.६ इन्चको केन्द्रीय डिस्प्ले र ८.८ इन्चको पूर्ण एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ। त्यस्तै, १९ ओटा स्पिकर, बहुरंगी एम्बियन्ट लाइट, वायरलेस मोबाइल चार्जिङ, फोर–जोन क्लाइमेट कन्ट्रोल, एयर प्युरिफिकेसन प्रणाली र विद्युतीय रूपमा समायोजन गर्न मिल्ने सिटलगायत सुविधा छन्।
एमएडब्लू वृद्धि मोटर्सले ईपाइ ००७ को नेपाली बजार मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

