Nepal Purbadhar

देशभर सात सडकखण्ड अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?

फाईल तस्बीर ।

काठमाडौं । वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका कारण देशका विभिन्न स्थानमा सात सडकखण्ड अवरुद्ध भएका छन्।

नेपाल प्रहरीका अनुसार आज बिहान १० बजेसम्म काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, इलाम, सिन्धुपाल्चोक, रसुवा र रुकुम पश्चिमका सडकखण्ड प्रभावित भएका छन्।

काभ्रेपलाञ्चोक हुँदै खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी-सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै राति ६ बजेदेखि बिहान ४ बजेसम्म सबै सवारीसाधनको आवागमन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ।

त्यसैगरी, वर्षाका कारण मकवानपुरको कान्ति लोकपथमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।

नुवाकोटको टोखा-छहरे सडकखण्डमा पनि राति १० बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सेवाबाहेकका सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन बन्द गरिएको प्रहरीले जनाएको छ।

इलाम नगरपालिका-९ राजदुवालीस्थित मेची राजमार्ग वर्षाका कारण पूर्णरूपमा अवरुद्ध भएको छ। सडकमा हिलो भएका कारण सवारीसाधन सञ्चालन हुन नसकेको र उक्त स्थानमा वैकल्पिक बाटो रहेको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ लिपिङ बजारस्थित अरनिको राजमार्ग भदौ ५ गते खहरे खोलाबाट आएको लेदो तथा ढुङ्गासहितको पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ।

त्यस्तै, रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी सडकखण्ड त्रिशूली नदीले सडकमुनिबाट कटान गरेपछि पूर्णरूपमा अवरुद्ध भएको छ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका-६ रिजेगार्ड खोलास्थित भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डमा सडक माथिबाट ढुङ्गा, माटोसहितको लेदो आएपछि सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार वर्षाका कारण सडक अवरुद्ध हुने तथा जोखिम बढ्ने क्रम रहेकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सावधानी अपनाउन आवश्यक छ।


Read Previous

१८औँ संस्करणको नाडा अटो शो २०२६ काठमाडौंमा सुरु- तस्बीरमा हेर्नुहोस्

Read Next

पोखराका ३२५ भूमिहीन अर्को साता स्थानान्तरण हुने, पाँच दशकपछि बन्ला अत्याधुनिक बसपार्क?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar