Nepal Purbadhar

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने


काठमाडौं। स्वास्थ्य क्षेत्रमा सहायता गर्ने संस्था ‘गाभी, द भ्याक्सिन एलायन्स’ले नेपाललाई सन् २०२७ देखि २०३० सम्म ३ करोड ९६ लाख अमेरिकी डलर बराबरको खोप तथा १ करोड ८० लाख ६० हजार अमेरिकी डलर नगद अनुदान उपलब्ध गराउने प्रस्ताव गरेको छ।

नेपाल सरकार र गाभीबीच आगामी चार वर्षको रणनीतिक सहकार्य, खोप सहयोग, सह-वित्तीय लगानी तथा राष्ट्रिय खोप कार्यक्रमको वित्तीय दिगोपनाका विषयमा उच्चस्तरीय छलफलका क्रममा उक्त प्रस्ताव गरिएको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र नेपालका लागि गाभीका वरिष्ठ म्यानेजर निल्गुन आयदोगानको नेतृत्वमा आएको टोलीबीच भएको बैठकमा आगामी सहयोगका विषयमा छलफल भएको थियो।

प्रस्तावित सहयोगअनुसार नेपालले गाभीबाट प्राप्त हुने सहयोगका लागि १ करोड ७१ लाख अमेरिकी डलर सह-वित्तीय लगानी गर्नुपर्ने विषयमा समेत छलफल भएको छ।

नेपाल र गाभीबीच सन् २००१ देखि सहकार्य हुँदै आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५ वर्षको अवधिमा गाभीले नेपालमा ५५ करोड अमेरिकी डलरभन्दा बढी बराबरको खोप, कोल्ड चेन पूर्वाधार तथा स्वास्थ्य प्रणाली सुदृढीकरणमा सहयोग गरेको छ।

हाल गाभीले नेपाल सरकारले राष्ट्रिय खोप कार्यक्रममार्फत उपलब्ध गराउने ११ प्रकारका खोपमध्ये पाँचवटामा सह-लगानी गर्दै आएको छ। त्यस्तै, एउटा प्रकारको खोप गाभीले निःशुल्क उपलब्ध गराउँदै आएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय खोप कार्यक्रममार्फत नियमित खोपका साथै विभिन्न खोप अभियान सञ्चालनमा समेत गाभीको सहयोग रहँदै आएको छ।

बैठकमा विश्वव्यापी रूपमा विकास सहायता तथा वित्तीय स्रोत घट्दै गएको अवस्थामा नेपालको राष्ट्रिय खोप कार्यक्रमलाई आगामी दिनमा कसरी दिगो बनाउने भन्ने विषयमा समेत छलफल भएको थियो।

नेपालले बाह्य सहयोगमा निर्भरता क्रमशः घटाउँदै राष्ट्रिय खोप कार्यक्रमका लागि आवश्यक स्रोत व्यवस्थापन कसरी बलियो बनाउने भन्ने विषयलाई आगामी सहकार्यमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

गाभीका प्रतिनिधिले राष्ट्रिय खोप कार्यक्रममा मन्त्री मेहताले देखाएको नेतृत्व तथा नेपालले खोपको क्षेत्रमा हासिल गरेको प्रगतिप्रति प्रशंसा गर्दै आगामी दिनमा समेत निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


Read Previous

ग्यास वितरणमा ‘क्विक रेस्पोन्स’, दैनिक २ सयभन्दा बढी गुनासो सम्बोधन

Read Next

मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल, प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउन सुझाव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar