
लघुजलविद्युत् परियोजनाको उपकरण मर्मतका लागि बुटवल पठाइयो, केन्द्रीय लाइन पुगे पनि अझै प्रयोगमा आउन सकेन
म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङमा चट्याङका कारण लघुजलविद्युत् परियोजनामा क्षति पुगेपछि १० दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। यसबाट करिब ४०० घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन्।
दरखोला दोस्रो लघुजलविद्युत् परियोजनाको विद्युत्गृहका उपकरणमा चट्याङले क्षति पुर्याएपछि सेवा बन्द भएको हो। परियोजनाका अपरेटर हर्कबहादुर पुर्जाका अनुसार चट्याङले विद्युत्गृहको एलसी प्लेट जलेको छ भने मर्मतका लागि उपकरण बुटवल पठाइएको छ।
पचास किलोवाट क्षमताको उक्त परियोजनाबाट लुलाङ, लमसुङ, खोरिया र मरेनी टोलका बासिन्दाले विद्युत् सेवा उपभोग गर्दै आएका थिए। प्राकृतिक प्रकोप र चट्याङका कारण यो परियोजना हरेक वर्ष प्रभावित हुने गरेको स्थानीयको गुनासो छ।
विद्युत् आपूर्ति बन्द भएपछि रातको समयमा पूरा वडा अन्धकार बनेको छ। यसले विद्यार्थीको पठनपाठन, घरेलु उद्योग सञ्चालन तथा वडा कार्यालयको सेवा प्रवाहमा समेत समस्या सिर्जना गरेको छ।
मोबाइल लगायतका विद्युतीय उपकरण चार्ज गर्न नपाउँदा सञ्चार सेवा पनि प्रभावित बनेको छ।
गत जेठमै लुलाङमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पुगे पनि स्थानीयका घरमा मिटरबक्स जडान र आन्तरिक वायरिङको काम पूरा नभएकाले अहिलेसम्म केन्द्रीय विद्युत् सेवा सञ्चालनमा आउन सकेको छैन। स्थानीयले शीघ्र मर्मत गरी विद्युत् आपूर्ति पुनः सञ्चालन गर्न तथा केन्द्रीय प्रसारण लाइनबाट विद्युत् वितरण प्रक्रिया पनि तत्काल अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
