
काठमाडौं। असुरक्षित तरिकाले ढुवानी गरिएको कुखुराको मासु प्रयोग गरी परिकार तयार गरेको पुष्टि भएपछि भक्तपुरको मध्यपुर थिमिस्थित ‘जिरे खुर्सानी दरबार’ रेस्टुरेन्टलाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभाग र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त अनुगमन टोलीले उक्त व्यवसायमाथि कारबाही गरेको हो।
विभागका अनुसार २१ असारमा परेको उजुरीका आधारमा रेस्टुरेन्टमा अनुगमन गरिएको थियो। त्यसक्रममा मासुको नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। साथै, भण्डारण गरिएको करिब १४.२ किलोग्राम काँचो कुखुराको मासु, करिब ५ किलोग्राम तन्दुरीका लागि तयार गरिएको काँचो मासु तथा फ्रिजमा स्रोत नखुलेको करिब १८ किलोग्राम मासुको बिक्री–वितरण र प्रयोग तत्काल रोक्का गरिएको थियो।
प्रयोगशालाको परीक्षण प्रतिवेदनमा उक्त मासुमा मानव स्वास्थ्यका लागि हानिकारक सूक्ष्म जीवाणु भेटिएपछि २४ असारमा पुनः अनुगमन गरिएको विभागले जनाएको छ। त्यसपछि मानव उपभोगका लागि असुरक्षित ठहरिएको सम्पूर्ण मासु नष्ट गरिएको विज्ञप्तिमा उल्लेख छ।
विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर गरेको ठहर गर्दै सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम ‘जिरे खुर्सानी दरबार’ लाई २ लाख ५ हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ।
विभागका अनुसार उक्त दिन संयुक्त टोलीले एकवटा खाद्य व्यवसायमा अनुगमन गरेको थियो।
