
फाइल तस्बीर।
काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेका शैक्षिक नतिजाहरू हतारमा नभई प्रक्रिया सुधार र व्यवस्थापकीय दक्षताका कारण समयमै प्रकाशन भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मन्त्री पोखरेलले एसइई र कक्षा १२ को नतिजा छिटो सार्वजनिक हुनु शिक्षा क्षेत्रमा गरिएको सुधारको परिणाम भएको स्पष्ट पारे। उनले आवश्यक जनशक्ति परिचालन, प्राविधिक व्यवस्थापन र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याइएकाले नतिजा प्रकाशनको समय घटाउन सम्भव भएको बताए।
“नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो,” मन्त्री पोखरेलले उल्लेख गरेका छन्।
मन्त्रालयका अनुसार यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा परीक्षा सम्पन्न भएको २९ दिनमै सार्वजनिक गरिएको छ। त्यस्तै कक्षा १२ को नतिजा पनि परीक्षा सम्पन्न भएको ४० दिनमै प्रकाशित गरिएको छ। अघिल्ला वर्षहरूमा यस्ता नतिजा सार्वजनिक हुन दुईदेखि तीन महिनासम्म लाग्ने गरेको थियो।
शिक्षा तथा खेलकुद मन्त्रालयले परीक्षा प्रणालीलाई समयबद्ध र नतिजामुखी बनाउन एकीकृत कार्यतालिका लागू गरेको जनाएको छ। शासकीय सुधार कार्यसूचीअन्तर्गत विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि परीक्षा सम्पन्न भएको दुई महिनाभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्यअनुसार काम गरिरहेका छन्।
नतिजा प्रक्रियाबारे विभिन्न जिज्ञासा र प्रश्न उठिरहेका बेला मन्त्री पोखरेलले त्यसको निष्पक्ष परीक्षणका लागि शिक्षा तथा खेलकुद मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रका उपसचिवहरू सम्मिलित समिति गठन गरिएको जानकारी दिएका छन्। समितिले उत्तरपुस्तिकाको नमुना परीक्षण गर्नुका साथै परीक्षाङ्क र तथ्याङ्क प्रविष्टिको प्रमाणीकरण गर्नेछ।
मन्त्री पोखरेलले नतिजासम्बन्धी विषयमा भइरहेको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै लोकतान्त्रिक समाजमा नागरिकले आफ्नो धारणा राख्न पाउने अधिकारको सम्मान गरिनुपर्ने बताए। उनले आन्दोलनरत विद्यार्थी वा कुनै पनि समूहप्रति गालीगलौज, दुर्व्यवहार तथा अपमानजनक टिप्पणी नगर्न पनि आग्रह गरेका छन्।
यसैबीच मन्त्रालयले परीक्षा प्रणाली, डिजिटल सेवा र प्रशासनिक प्रक्रियामा गरिएको सुधारले शिक्षा क्षेत्रमा सुशासन, पारदर्शिता र उत्तरदायित्व बढाउन सहयोग पुगेको जनाएको छ। मन्त्रालयका अनुसार वैदेशिक अध्ययन अनुमति (एनओसी) प्रणालीमा डिजिटल एकीकरण, समकक्षता प्रमाणपत्रको छिटो प्रमाणीकरण तथा शिक्षक क्षमता विकासका कार्यक्रममार्फत पनि सेवा प्रवाहलाई थप प्रभावकारी बनाइएको छ।
शिक्षा मन्त्रालयले समयमै नतिजा प्रकाशनको अभ्यासलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिँदै शैक्षिक प्रशासनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको जनाएको छ।

