Nepal Purbadhar

कक्रोच जनता पार्टीको प्रदर्शन: ६ जना नियन्त्रणमा, के यो जेन जी आन्दोलन हो?


नयाँ दिल्ली । जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा सम्भावित झडप रोक्न दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरी अधिकारीहरूका अनुसार प्रदर्शन स्थल नजिकै अशान्ति फैलाउने प्रयास भइरहेको सूचना पाएपछि सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै ती व्यक्तिहरूलाई पूर्वसावधानीका रूपमा नियन्त्रणमा लिइएको हो।

हालसम्म प्रदर्शन क्षेत्रको अवस्था नियन्त्रणमै रहेको र कुनै अप्रिय घटना नघटेको प्रहरीले जनाएको छ।

यसैबीच, जन्तर मन्तरमा सीजेपीको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। समर्थक र विरोधी समूहबीच तनाव बढ्न सक्ने आशंकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ।

ठट्टाका रूपमा सुरु भएको भनिएको यो अनलाइन युवा अभियान पछिल्लो समय सडक प्रदर्शनमा रूपान्तरण भएको छ। अमेरिकाबाट आएका सीजेपीका संस्थापक अभिजीत दीपके जन्तर मन्तर पुगेपछि प्रदर्शन थप चर्किएको बताइएको छ।

सुरक्षाकर्मीको बाक्लो उपस्थिति बीच सञ्चारकर्मीहरूको समेत ठूलो चासो देखिएको छ भने सहभागीहरूको संख्या बढ्दै गएको जनाइएको छ।

यसैबीच, सीजेपीका समर्थक र भारतीय जनता पार्टी (भाजपा) समर्थकबीच समेत केही समय तनाव देखिएको थियो। प्रहरीले स्थिति नियन्त्रणमा लिँदै विरोधी समूहलाई हटाएको बताइएको छ।

सीजेपी नाम भारतका प्रधानन्यायाधीशसँग जोडिएको टिप्पणीका कारण चर्चामा आएको छ, जसले बेरोजगार युवालाई “कक्रोच” सँग तुलना गरेको भनाइपछि अभियानको नामकरण गरिएको बताइन्छ।

अभियानले सामाजिक सञ्जालमा उल्लेखनीय प्रभाव पारेको छ भने पछिल्लो समय करिब दुई करोड २० लाख फलोअर पुगेको दाबी गरिएको छ।

आन्दोलनका क्रममा संस्थापक अभिजीत दीपकेले शिक्षामन्त्रीको राजीनामा माग गर्दै विभिन्न मुद्दा उठाएका छन्। उनले परीक्षा प्रणाली, बेरोजगारी र विद्यार्थी आत्महत्यासम्बन्धी घटनालाई प्रमुख विषय बनाएका छन्।

सुरक्षाका बीच उनले समर्थकहरूलाई शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरेका छन्। तर सुरक्षा निकायले सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी कडा बनाएको छ।

राजनीतिक तथा सामाजिक वृत्तमा भने यो अभियानलाई लिएर मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई डिजिटल आन्दोलनको नयाँ रूप भनेका छन् भने कतिपयले यसको वास्तविक प्रभावबारे प्रश्न उठाएका छन्।


Read Previous

रास्वपाको लक्ष्य वैकल्पिक मात्र होइन, मुलुकको नेतृत्व होः सभापति लामिछाने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar