
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले सरकारी विद्युतीय खरिद प्रणाली (e-GP) मा अनधिकृत पहुँच पुर्याई ठेक्का सम्बन्धी विवरण हेरफेर गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सञ्चालित e-GP प्रणालीमा ह्याकिङ गरी विभिन्न ठेक्काका विवरण परिवर्तन गरिएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो । सोही उजुरीका आधारमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरी संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दिवाकर देउवा (पार्वतीपुर नगरपालिका–५), भरत घर्ती (दुर्गाथली गाउँपालिका–३, बझाङ), सञ्जय भण्डारी (बन्दीपुर गाउँपालिका–१, तनहुँ), भास्करराज अर्याल (काठमाडौं महानगरपालिका–३३), सागर कटुवाल (हेटौंडा उपमहानगरपालिका–१७, मकवानपुर) र जीवनकुमार दास (दुहबी नगरपालिका–५, सुनसरी) रहेका छन् ।
उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको हो । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।
