Nepal Purbadhar

गोल्याण ग्रुपद्धारा शैक्षिक वृत्तिको लागि वार्षिक डेढ करोड बजेट विनियोजन


काठमाडौं । काठमाडौं । जेन–जी आन्दोलनका सहिदका बालबालिकालाई अध्ययनको लागि गोल्याण ग्रुप, विद्यालय र अभिभावबीच त्रिपक्षीय सम्झौता भएको छ । गोल्याणले गत असोज २४ मा गरेको घोषणालाई कार्यान्वयन गर्ने क्रममा त्रिपक्षीय सम्झौता भएको हो ।

पहिलो चरणमा मंगलबार गोल्याण टावरमा आयोजित कार्यक्रममा ६ जना सहिदका ९ बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गर्ने गरि सम्झौता भएको छ । सम्झौता अनुसार गोल्याण ग्रुपले बालबालिकाको शिक्षामा मासिक ४० हजारको दरले वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ खर्च व्यहोर्नेछ । ‘उक्त छात्रवृत्तिमा विद्यार्थीको मासिक शैक्षिक शुल्क, खाना तथा खाजाको शुल्क, छात्रावास शुल्क, यातायात शुल्क, विद्यालयद्वारा सञ्चालित अतिरिक्त क्रियाकलापका शुल्क, वार्षिक भर्ना शुल्क, प्रशासनिक शुल्क, पुस्तक तथा स्टेशनरी खर्च, विद्यालयको पोशाक शुल्कलगायत विद्यालयको बिल–बिजकमा उल्लिखित सम्पूर्ण शुल्कहरू समावेश रहनेछ,’ त्रिपक्षीय सम्झौतामा भनिएको छ, ‘छात्रवृत्ति रकम विद्यालयले समय–समयमा जारी गरेको बिल–विजक बमोजिम गोल्याण ग्रुपद्वारा सोझै विद्यालयलाई भुक्तानी गरिनेछ ।’

गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर विद्यार्थीलाई उनीहरुको रुचिअनुसार अतिरिक्त क्रियाकलापमा खर्चसमेत व्यहोर्नेछ । विद्यालयले अतिरक्त क्रियाकलाप प्रदान नगरेको खण्डमा विद्यार्थीले उक्त क्रियाकलाप अन्य संस्था/संगठनबाट सिक्न सक्ने र सो वापतको रकम गोल्याण ग्रुपले छात्रवृत्ति रकमको सीमाभित्र रहेर भुक्तानी गर्ने सम्झौतामा भनिएको छ ।

सहिद अनिष पराजुलीका दुई छोरामध्ये जेठो छोरा नर्थ पोल एकाडेमी, मनमैजु (कक्षा ८) र कान्छो छोरा काठमाडौं यूरो स्कुल बानियाटार (प्ले ग्रुप) मा अध्ययन गर्ने गरी सम्झौता भएको छ । त्यसैगरी सहिद अभिषेक चौलागाइँकी बहिनी जागृती विद्या सदन इंलिस स्कुल भक्तपुर (कक्षा १०), सहिद बुद्धिबहादुर तामाङका छोरा कश्यप एकाडेमी कलंकी (कक्षा ८), सहिद सौरन किशोर श्रेष्ठका छोरा यूरो स्कुल छाउनी (कक्षा १), सहिद सन्तोष विश्वकर्माका छोरा र छोरी क्याम्ब्रिज पब्लिक हाइस्कुल वानेश्वर (क्रमशः कक्षा ३ र २) तथा सहिद साजनकुमार राईका दुई छोरा त्रि–ज्योती सेकेन्डरी स्कुल कपन (कक्षा ७ र यूकेजी) मा अध्ययनन गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतामा सामेल बालबालिकाको कक्षा १२ सम्मको शैक्षिक खर्च घोषित आर्थिक प्याकेजको सीमाभित्र रहेर व्यहोरिनेछ । सम्झौतापत्रमा गोल्याण ग्रुपको तर्फबाट कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रे, बालबालिका अध्ययनरत विद्यालयका प्रधानाध्यापक र बालबालिकाका संरक्षक (अभिभावक) ले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा बोल्दै गोल्याण ग्रुपका प्रवन्ध निर्देशक अक्षय गोल्याणले सहिद परिवारका बालबालिकाहरुको शिक्षाको दायित्व लिने प्रतिवद्धता कार्यान्वयनको महत्वपूर्ण चरण सुरु भएको बताए । जेन–जी आन्दोलनका सहिदहरुको योगदानको कदर स्वरुप उनीहरुमा आश्रित बालबालिकाको शिक्षाको जिम्मेवारी लिइएको उनको भनाइ थियो । ‘हामीले व्यवसायलाई प्रवद्र्धन गर्न वा कुनै मार्केटिङको लागि नभई मन–मुटुबाटै भावनात्मक रुपमा बालबालिकाको शिक्षाको जिम्मेवारी लिएका हौं,’ उनले भने, ‘यो सम्झौताले प्रत्येक बच्चाले गुणस्तरीय शिक्षा पाउने मात्र नभई कक्षाकोठाभन्दा बाहिर उनीहरूको प्रतिभा र क्षमता विकास हुने अवसरको पनि सुनिश्चित गर्दछ ।’ बालबालिकाले गुणस्तरीय शिक्षा र असल संस्कार पाउँदा त्यसबाट सिंगो देशको भविष्यमा सकारात्मक प्रभाव पार्ने उनले बताए । बालबालिकाको शिक्षा र उनीहरुको उज्वल भविष्यको लागि गोल्याण ग्रुप सधैं साथमा रहने उनले प्रतिवद्धता व्यक्त गरे ।

गोल्याण ग्रुपका कर्पोरेट अफेयर्स, कम्युनिकेशन्स एण्ड पब्लिक रिलेसन प्रमुख ज्योति गैह्रेले २४ परिवारका ३२ जना बालबालिकालाई शैक्षिक वृत्ति प्रदान गरिने जानकारी दिइन । तीमध्ये मंगलबार ९ बालबालिकाको त्रिपक्षीय सम्झौता भएको हो । अन्य बालबालिकाहरुको पनि छात्रवृत्ति सम्झौताको तयारी भइरहेको उनले बताइन् । उनका अनुसार गोल्याण ग्रुपले शैक्षिक वृत्तिको लागि वार्षिक करिब १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । ‘शैक्षिक वृत्तिमा नसमेटिएका सहिद परिवारका लागि स्वास्थ्य बिमा गर्ने प्रक्रिया पनि सँगसँगै अघि बढिरहेको छ,’ उनले भनिन्, ‘हरेक सहिद परिवार शिक्षा वा स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वित हुनुहनेछ ।’

गोल्याण ग्रुपको मन–मुटुबाट आएको भावनामा विद्यालयको साथ
सम्झौतापत्रमा उपस्थित विद्यालयका प्रमुखले गोल्याण गु्रपको भावनात्मक सहयोगमा आफूहरुले साथ दिने बताएका छन् । त्रि–ज्योती सेकेन्डरी स्कुलका प्रिन्सिपल गणेशकुमार मिश्रले गोल्याण ग्रुपको मन–मुुटुबाट आएको भावनामा विद्यालय परिवार पनि जोडिएकाले बालबालिकाको भविष्यलाई केन्द्रमा राखेर सम्झौता कार्यान्वयन गर्ने बताए । त्रि–ज्योतीमा सहिद साजनकुमार राईका दुई छोरा अध्ययनरत छन् । उनीहरुकी आमाको पनि मृत्यु भइसकेकाले विशेष हेरचाह गर्नुपर्ने दायित्व विद्यालयको काँधमा आएको मिश्रको भनाइ थियो ।

प्याब्सनकी सल्लाहकारसमेत रहेकी ब्याम्ब्रिज पब्लिक हाइ स्कुलकी संस्थापक/प्रिन्सिपल रिता राई दाहालले गोल्याण ग्रुपले शिक्षाको जिम्मेवारी लिएका बालबालिकालाई समय–समयमा अतिरिक्त क्रियाकलाप आयोजना गरेर सामूहिक भेटघाट, घुलमिल र आपसी प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने सुझाब दिइन् ।

त्रिपक्षीय सम्झौता कार्यक्रममा उपस्थित नर्थपोल एकाडेमीका विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्याककृष्ण भेटवालले गोल्याण ग्रुपले सहिद बालबालिकाको शिक्षाको जिम्मेवारी लिएर समाजप्रतिको आफ्नो दायित्व थप स्पष्ट पारेको बताए । ‘गोल्याण ग्रुपले आफ्नो व्यवसायसँगै सामाजिक सेवालाई पनि सँगसँगै अघि बढाइरहेको छ, यस कार्यले सामाजिक सेवा भाव अझ प्रष्ट भएको छ,’ उनले भने ।

सम्झौतामा चारै पक्षको दायित्व
त्रिपक्षीय सम्झौतामा गोल्याण गु्रप, बालबालिका अध्ययनरत विद्यालय र बालबालिकाका संरक्षक (अभिभावक) को दायित्व उल्लेख गरिएको छ । गोल्याणको दायित्व विद्यार्थीको १२ कक्षा सम्मको अध्ययनका लागि छात्रवृत्ति रकम नियमित रुपमा विद्यालयलाई प्रदान गर्नुपर्ने छ रहेको छ ।
विद्यालयको दायित्वमा अन्य शुल्क तिर्ने विद्यार्थीहरु सरह कुनै भेदभावविना गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने, विद्यार्थीले कुनै पनि कारण विद्यालय छाडेमा, निष्कासित भएमा वा लामो समय बिनासूचना अनुपस्थित भएमा गोल्याण ग्रुपलाई सूचित गर्नुपर्ने रहेको छ ।

संरक्षकको दायित्वमा विद्यार्थीको अध्ययनका लागि उपयुक्त वातावरण प्रदान गरी पठनपाठनमा सहयोग गर्नुपर्ने, सम्झौता अन्तर्गत पेश गरेका सम्पूर्ण कागजातहरू सही, साँचो र तथ्यपरक रहेको कुराको पूर्ण जिम्मेवारी लिनुपर्ने रहेका छन् ।

विद्यार्थीले विद्यालयको नियमअनुसार तोकिएको न्यूनतम शैक्षिक स्तर कायम गर्न नसकेमा पठनपाठनलाई सहजीकरण गर्ने दायित्व तीनवटै पक्षको रहेको छ ।

त्रिपक्षीय सम्झौतामा विद्यार्थीको दायित्व पनि तोकिएको छ । जसअन्तर्गत, विद्यार्थीले नियमित रुपमा विद्यालयमा उपस्थित भई विद्यालयको नियमअनुसारको न्यूनतम हाजिरी अनिवार्य रुपमा कायम गर्नुपर्ने र विद्यालयका हरेक परीक्षा उत्तीर्ण गर्दै नियमित रूपमा आफ्नो अध्ययन पूरा गर्नुका साथै आफ्नो शिक्षामा उत्कृष्टता हासिल गर्न प्रयत्न गर्नुपर्नेछ उल्लेख छ ।


Read Previous

एमएडब्लू वृद्धिद्वारा प्रि–न्यू इयर ब्याश घोषणा: नयाँ वर्षअघि डोंगफेङ नामी र सेरेस ईभीमा आकर्षक अफरहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar