Nepal Purbadhar

प्राधिकरणले ६ उद्योगमा लाइन काटेपछि पिडीत तथा प्रताडित उद्योग समूहले भन्यो, महसुल तिर्दैनौं


काठमाडौं । काठमाडौं । उद्योगीहरुले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता नतिर्ने बताएका छन् ।

मंगलबार ६ उद्योगमा लाइन काटिएपछि विज्ञप्ती जारी गर्दै विवादित डेडिकेटेड/ट्रंक लाइन महसुलको किस्ता बुझाउन अस्वीकार गर्ने कठोर निर्णय गरिएको बताएका छन् । ‘यो अडान कानुनी शासन र राष्ट्रिय अर्थतन्त्रको स्थिरताको पक्षमा लिइएको हो, न कि वैध शुल्क तिर्नबाट पन्छिनका लागि,’ विज्ञप्तीमा भनिएको छ , ‘हामी प्रत्येक नेपाली नागरिक र सुशासनका लागि हालै आन्दोलनमा उत्रेको युवा पुस्ता (जेन–जी) लाई अपील गर्दछौं: यो संस्थागत स्वेच्छाचारिता र प्रमाणहीन शक्तिको विरुद्धको लडाई हो, जसले हरेक नेपालीको आर्थिक भविष्यमाथि खतरा सिर्जना गरेको छ ।’

उद्योगीहरुका अनुसार ७ वर्षदेखि यो विवाद चलिरहेको छ । उनीहरुले बितेका सात वर्षभन्दा बढी समयदेखि कुनै पनि उद्योगले डेडिकेटेड लाइनको प्रिमियम सेवा प्रयोग गरेको कुरा स्वीकार नगर्नुले प्राधिकरणको बिलिङ प्रणाली र प्रमाणमा गम्भीर कमजोरी रहेको स्पष्ट पारेको बताएका छन् ।

उनीहरुले सरकारले गठन गरेको लाल आयोगको प्रतिवेदन र टी.ओ.डी. मिटर डाटा अर्थात लोडशेडिंग को बखत उद्योग सञ्चालन गरेको प्रमाण का आधारमा मात्रै दायित्व निर्धारण गर्नुपर्ने माग उल्लेख गरेका छन् । ‘कसरी भुक्तानी गर्ने, जब प्राधिकरणसँग हामीले सेवा उपयोग गरेको प्रमाण नै छैन?,’ उनीहरुको प्रश्न छ ।

प्राधिकरणले कानुनी प्रक्रियालाई लत्याएको आरोप लगाएका छन् । उद्योगहरूलाई प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन लगाई, सो प्रक्रियाको लागि कुल विवादित रकमको ५ प्रतिशत बैंक ग्यारेन्टी समेत जम्मा गर्न लगाएपछि, प्राधिकरणको सञ्चालक समितिले सो सम्पूर्ण प्रक्रिया र कामकारबाही स्वेच्छाचारी ढंगले रद्द गरिएको बताएका छन् ।

प्राधिकरणले लाइन काटेका कारण १५ हजार रोजगारीको जोखिममा परेको बताएका छन् ।

उद्योगीहरुले प्राधिकरणलाई मासिक १०० करोड रुपैयाँभन्दा बढी नियमित महसुल बुझाइरहेका छन् ।

यसअघि २३ वटा उद्योगको २२ दिनका लागि बिजुली काट्दा उद्योग क्षेत्रले १२ अर्ब रुपैयाँभन्दा बढी क्षति बेहोरेको थियो । जबकि राज्यले भन्सार, अन्तःशुल्क र आयकरसमेत गरी ३ अर्ब रुपैयाँभन्दा बढी राजस्व गुमाएको थियो। यस ४:१ को नोक्सानको अनुपात ले राज्यको आक्रामक कदमले देशलाई नै ठूलो क्षति पुर्‍याउने पिडीत तथा प्रताडित उद्योग समूह (नेपाल) भनाई छ ।

प्राधिकरणले कार्तिक २ गतेसम्म बक्यौताको पहिलो किस्ता तिर्ने समय दिएको थियो । लक्ष्मी पुजा सकिएपछि मंगलबार बिहानै प्राधिकरणले लाइन काटेको हो । यो बीचमा १३ उद्योगले बक्यौता तिर्न सुरु गरेका छन् ।

२५ वटा उद्योगले बक्यौता तिर्न बाँकी छ । १९ वटा उद्योगमा भने लाइन काटिएको छैन् ।


Read Previous

तिहारको बिदामा पनि प्राधिकरण खुल्ला रहने, बक्यौता बुझाए लाइन तत्काल जोडिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar