Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

कुडुँले-मालिका-पञ्चकोट सडककाे कालाेपत्र गरेर स्तरोन्नति


बागलुङ । बागलुङमा स्थापित पर्यटकीय गन्तव्य पञ्चकोट पुग्ने गरी निर्माण सुरु भएको चक्रपथ सडक स्तरोन्नति गर्न थालिएको छ । ठेक्का सम्झौता भएको ४ वर्षसम्म कालोपत्र गर्न नसकेको उक्त सडकमा ढिलोगरी निर्माण व्यवसायीले काम थालेको हो ।

२ वर्षभित्रै स्तरोन्नति तथा कालोपत्र सक्नेगरी २०७६ असोज २८ गते सम्झौता भएको सडक अहिले कालोपत्र गर्न थालिएको हो । पञ्चकोट पुग्नेगरी कुडुँले चोकदेखि मालिका हुँदै पञ्चकोट घुमेर काठेखोला पुग्ने सडकको १४ किलापमिटरमा कालोपत्रको काम थालिएको जनाइएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुले चोकदेखि मालिका–पञ्चकोट पुग्ने क्षेत्रीय रिङ्गरोड सडक निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएको ठेकेदार एक वर्षपछि काममा फर्केको बागलुङ–५ का पूर्वजनप्रतिनिधि शिव सापकोटाले बताए । ३ पटकसम्म सम्झौता मिति थपिएको उनकाे भनाइ छ ।

अलपत्र परेको सडक कालोपत्र गर्न थालेपछि यहाँका स्थानीय खुसी भएकाे सापकोटाले बताए । पूर्वाधारको काम सकेर ठेकेदार सम्पर्कविहीन हुँदा उक्त सडक एक वर्षदेखि अस्तव्यस्त बन्न थालेपछि स्थानीय आक्रोशित भएकामा अहिले कामले निरन्तरता पाएसँगै खुसी भएका छन् ।

सडक कालोपत्र भएपछि पञ्चकोट जाने तीर्थालुलाईसमेत सहज हुने स्थानीय बताउँछन् । ४ वर्षदेखि कालोपत्रको पर्खाइमा रहेको उक्त सडक निर्माणको जिम्मा पाएको काष्ठमण्डप कन्ट्रक्सन प्रालि माघदेखि काममा फर्केको जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले जानकारी दिए ।

उनका अनुसार निर्माण व्यवसायीलाई पत्र पठाउँदा पनि काममा नफर्केपछि गत पुस ३ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा निर्माण व्यवसायी र जनप्रतिनिधिबीच काम गर्ने प्रतिबद्धता जनाएलगत्तै स्तरोन्नतिले लिएको हो ।

“गत पुस ३ गतेको सहमति लगत्तै कामले गति लिएको छ । यसअघि उक्त सडकको पाङ्ग्रेखोलामा एक सय मिटर सडक ढलान गरिएको थियो । ग्राभेल सकेर निर्माण व्यवसायीले मालिकाबाट कालोपत्र गर्न थालेको छ”, घिमिरेले भने, “सम्झौताअनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ । यो निर्माण व्यवसायका लागि अन्तिम मौका हो ।”

तीन पटकसम्म म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरेसँगै एक वर्षपछि काममा फर्केको थियोे । गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय बागलुङमार्फत ३१ करोड रुपैयाँ लागतमा १४ किमि सडक कालोपत्र गर्न थालिएको उनले बताए ।

करिब ७६ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रको मात्रै काम बाँकी रहेकाले चैत मसान्तभित्रै काम सकिने निर्माण कम्पनीका स्थलगत प्रमुख रवीन चापागाईंले बताए । कुडुँले चोकदेखि–मालिका–पञ्चकोट हुँदै तितौरे काठेखोला गाउँपालिकाको सिमानासम्म जाने १४ किलोमिटर सडक पहिलो चरणमा कालोपत्र गर्नका लागि बजेट विनयोजन भएको थियो ।

प्रदेशको ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक आयोजना’ अन्तर्गत बागलुङ क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा पर्ने बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकालाई समेट्ने गरी क्षेत्रीय चक्रपथका रुपमा यो सडकलाई स्तरोन्नति गर्न थालिएको बताइएको छ ।


Read Previous

अवरुद्ध सडक खुलाउन हिमपहिरो पन्छाउन थालियो   

Read Next

मानपुर-डेडगाउँ-बुलिङटार सडकमा कालाेपत्र गर्न सुरु

Leave a Reply

Your email address will not be published.