Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

पानीको मुहान संरक्षण गर्न रिचार्ज पोखरी   


धनकुटा । खानेपानीको मुहान सुक्नबाट बचाउन तथा सुकेका मुहानहरुलाई पुनःजीवित गर्न धनकुटाको २ स्थानीय तहमा वर्षातकाे पानी जम्मा गर्ने रिचार्ज पाेखरीहरू बनाउन सुरु गरिएको छ । मौसम सेवा प्रणाली स्थापनाका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड)को प्राविधिक सहयोग तथा गैरसकारी संस्था हुसाडेक नेपाल धनकुटाको सहकार्यमा धनकुटा नगरपालिका र छथर जोरपाटी गाउँपालिकामा रिचार्ज पोखरी निर्माण सुरु गरिएको हो ।

जलाधार र मुलाधार क्षेत्रलाई रिचार्ज गर्न लक्षित गरी धनकुटा नगरपालिकाका १० वडामध्ये ८ र छथर गाउँपालिकाको ६ मध्येदुई वडामा रिचार्ज पोखरी निर्माण भइरहेको हुसाडेकका अध्यक्ष सरोज भुजेलले जानकारी दिए ।

गत वर्षबाट ५ वर्षमा सक्ने गरी शुरु गरिएको उक्त कार्यक्रम अन्तर्गत हालसम्म धनकुटा नगरपालिकामा २२ वटा र छथर जोपाटीमा ५८ वटा रिचार्ज पोखरी निर्माण गरिएको उनले बताए । “नयाँ रिचार्ज पोखरी निर्माण तथा पुराना पोखरी पुनःनिर्माण कार्यक्रमले सुक्दै गएका पानीका मुहानमा पानीको वृद्धि भइहेको छ”, भुजेलले भने ।

यसअघि ईसिमोडसँग सम्बन्धित स्थानीय तहका वडाध्यक्षहरुले आफ्नो क्षेत्रमा रहेको सामुदायिक वनसँगको सहकार्यमा रिचार्ज पोखरी बनाउने प्रतिबद्धता जनाएका थिए । जसअनुसार छथर जोरपाटी गाउँपालिकामा गत वर्षबाट पोखरी निर्माण सुरु भएको र धनकुटा नगरपालिकामा यस वर्षबाट वडा नं १ मा काम शुरु गरिएको भुजेलले बताए ।

वडाले धनकुटा बजार र हिले बजारलाई ल्याइएको खानेपानी जलाधार तथा मुलाधार रहेको राना टोल क्षेत्रमा १७ वटा रिर्चाज पोखरी निर्माण गरिएको वडाध्यक्ष वङ्द तामाङ्गले जानकारी दिए ।

आफूहरुलाई इसिमोडले भारतको सिक्किम भ्रमण लगेर रिचार्ज पोखरीको माध्यमबाट खानेपानी मुहानहरु जीवित भएको देखाएपछि यो काम गर्न आफू उत्साहित भएको तामाङले बताए । चालु आर्थिक वर्षमा वडाको जलाधार तथा मुलाधार क्षेत्रमा ७० देखि एक सय वटासम्म रिचार्ज पोखरी निर्माण गरिने उनले जानकारी दिए ।

खानेपनी तथा मुलपानी संरक्षणका लागि तोकिएका सबै वडाहरुमा पनि रिचार्ज पोखरीको कार्यक्रमलाई निरन्तरता दिइने धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले बताए ।


Read Previous

हावाहुरीले वितरण लाइनमा क्षति पुर्याउँदा पर्यटकीय क्षेत्र खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध    

Read Next

फराकिलो बन्दै नेपालगन्ज-बघौडा हुलाकी सडक,आवागमन सहज 

Leave a Reply

Your email address will not be published.