Nepal Purbadhar

बाँकेकाे विपन्न वर्ग अझै पनि गुइँठाबाट गुजारा गर्दै, भान्छामा छैन स्वच्छ ऊर्जाकाे पहुँच   


बाँके । ग्रामीण क्षेत्रमा खाना पकाउन अझै पनि परम्परागत चुलो प्रचलनमा छ । गाउँघरमा खाना पकाउने इन्धनका रूपमा गाईभैँसीको गोबरबाट बनाइने गुइँठाको प्रयोग अझै कायम छ ।

खाना पकाउने ग्यास महँगो र काठ तथा दाउरा अभाव भएकाले गुइँठा इन्धनका रूपमा प्रयोग गरिरहेको बाँके डुडुवा गाउँपालिका–१ की लक्ष्मी कोरी बताउँछिन् । “ग्यास किन्ने आर्थिक हैसियत छैन, हाम्रा लागि गुँइठा नै सहज विकल्प हो”, उनी भन्छिन् ।

डुडुवा–१ की निर्मला कोरीको अवस्था पनि उस्तै छ । “आफूसँग भएको जमिनमा रुखबिरुवा छैनन्, नजिकै जङ्गल पनि छैन, हामी त बाढी प्रभावित क्षेत्रमा बसेका छौँ, अहिले नदीमा बाढीले बगाएर ल्याएको काठ दाउरा संकलन गर्न सक्दैनौँ, त्यसैले हाम्रा लागि गुइँठा नै खाना पकाउने विकल्प हो ,” उनी भन्छिन् ।

गाउँमा प्रायः पशुपालन गर्ने भएकाले घरपिच्छे महिला गुइँठा बनाउने गर्दछन् । परापूर्वकालदेखि चलिआएको परम्पराका कारणले पनि गुइँठा बनाउने चलन अझै कायम छ । गुइँठाले स्वास्थ्यमा असर गर्नेबारे अलि सचेत हुन थालेको परिवारले ग्यासको व्यवस्था गरे पनि गुइँठाको प्रयोग नछाडेको डुडुवा–४ का शिक्षक चन्दा मिश्र बताउनुहुन्छ । उहाँका अनुसार गुइँठाको प्रयोगले खाना अलि स्वादिलो हुने सोचका कारण गाउँघरमा यसको प्रयोग नरोकिएको हो । ग्यास र त्यसमा प्रयोग हुने चुल्हो किन्न सबै गाउँले सक्षम पनि छैनन् ।

गुइँठा गाईगोरु तथा भैँसीको गोबरमा भुस, पराल मिलाएर बनाइन्छ । यसरी बनाइएको गुइँठालाई घाममा सुकाएर बाल्नयोग्य बनाइन्छ । स्वास्थ्यका दृष्टिले गुइँठा बाल्नु राम्रो होइन । आगो छिटो नसल्कने, आगो सल्के पनि धुवाँ बढी फाल्नेलगायत कारणले यसले स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थकर्मी बताउँछन् । अधिक गुइँठाको प्रयोगले श्वासप्रश्वास, क्षयरोग र मोतियाविन्दुजस्ता दीर्घकालीन रोगको जोखिम बढ्ने नेपालगञ्ज मेडिकल कलेजका विशेषज्ञ डा विनोद कर्ण बताउँछन् । दाउराका रूपमा गोबरको अत्यधिक प्रयोग भएकाले कृषि उत्पादनमा ह्रास हुँदै गएको कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ ।

गोबरको प्रयोग इन्धनका रूपमा हुन थालेपछि किसानले रासायनिक मल प्रयोग गर्न थालेका छन् । यसबाट तत्काल उब्जनी बढ्ने भए पनि माटोको उर्वराशक्ति घट्दै गएको छ । बाँकेको नरैनापुर गाउँपलिकाले परम्परागत चुलोको अन्त्यका लागि विगतमा अनुदानमा ग्यास चुलो र सिलिण्डर वितरण गरेको थियो ।

नरैनापुर क्षेत्रमा बर्सेनि आगलागीका घटना हुने गरेको नेपाल रेडक्रस सोसाइटीका अधिकृत प्रह्लाद विश्वकर्मा बताउँछन् । उनका अनुसार नरैनापुरमा अधिकांश घर फुसका छन् । परम्परागत चुलोमा खाना पकाउनाले आगो गाउँमा आगो लाग्ने जोखिम सधै रहन्छ
नरैनापुरवासीलाई ग्यासतर्फ आकर्षण गर्न पालिकाले निःशुल्क ग्यास वितरण गरे पनि सिलिण्डरमा रहेको ग्यासलाई प्रयोग गरी पछि त्यसमा आर्थिक समस्याका कारण पैसाको अभावमा ग्यास भर्न नसकिएर सयाैं ग्यास सिलिण्डर थन्किएका छन् । त्यस क्षेत्रका परिवारमा आर्थिक अभावमा विकल्पका रूपमा अझै पनि गुइँठा र दाउराको प्रयोगको जारी रहेको नरैनापुरका स्वास्थ्यकर्मी तारा शर्मा बताउँछन् ।

“यहाँ यस्ता परिवार छन्, जसलाई दैनिक मजदुरी गरेपछि साँझ–बिहानको छाक टर्छ, त्यस्ता परिवारले ग्यास कसरी व्यवस्थापन गर्न सक्छन्?”, उनले भने ।  सो क्षेत्रमा यस्ता परिवारको सङ्ख्या बढिरहेको छ ।

“अनुदानमा ग्यास सिलिन्डर प्राप्त गर्ने नरैनापुरका स्थानीय केहीले बेचिसके भने केहीले आफ्ना छोरी तथा नातागोतलाई दिए”, उनले भने, “सिलिन्डर पाए पनि महँगाइले गरिब र किसानका लागि ग्यासको मूल्य छोइनसक्नुभएको छ ।” नरैनापुर मात्र होइन, नेपालगञ्जनगरसँग जोडिएका धेरै गाउँमा गरिबीका कारण गुइँठा र दाउरा नै प्रयोग गरेको पाइन्छ ।


Read Previous

पर्यटन प्रवर्द्धनका लागि सामुदायिक घरबास सञ्चालन  

Read Next

ग्लोबल आइएमई बैंकको न्यूनतम ब्याजदर ९.९९% देखी विशेष घर कर्जा योजना