Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

नारायणगढ-बुटवल सडक निर्माणको गति लक्ष्यभन्दा न्यून


काठमाडौं। सरकारले चासो दिएको बुटवल–नारायणगढ सडक निर्माण आयोजनामा केही सुधार देखिए पनि लक्ष्यअनुसार  प्रगति हुनसकेको छैन । सडक आयोजनाकाे कामले तीव्रता पाउन नसक्दा लक्ष्य अनुसारकाे प्रगति हुन नसकेकाे हाे ।

याे सडक आयोजनाको प्रगति गत महिनासम्म करिब ३ प्रतिशत हाराहारीमा थियो । बर्खामा कम काम भए पनि अहिले गति केही बढेको देखिन्छ ।

ठेक्का थपिएपछि साउनसम्ममा सडककाे काम सकिनुपर्नेमा अहिलेसम्मको दुवै ठेक्काकाे प्रगति करिब ३१ प्रतिशत मात्रै छ अहिलेसम्म पश्चिम खण्डमा भौतिक प्रगति २९.०९ प्रतिशत र वित्तीय प्रगति २०.४१ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

करिक साढे ५ किमी सडकमा एक तहको कालोपत्र सकिएको नारायणगढ–बुटवल सडक पश्चिमखण्ड आयोजनाका इञ्जीनियर शिवु खत्रीले जानकारी दिए । उनका अनुसार अहिलेसम्म जम्मा २ सय मिटर बाटोमा मात्रै दुई तहको कालोपत्र भएको छ ।

एक तहमा पहिले छ सेन्टिमिटरको कालोपत्र गरेपछि दोहोर्याएर ४ सेन्टिमिटर गरेपछि कालोपत्र पूरा हुन्छ । “अहिले चार लेनमध्ये दुई लेनमा मात्रै काम भइरहेको छ ,”उनले भने ।

केही महिना यता निर्माणको प्रगति बढेको र पछिल्लो महिनामा पश्चिम खण्डको प्रगति १.९६ प्रतिशत रहेको इञ्जीनियर खत्रीले बताए । । अहिले पनि लक्ष्यभन्दा न्यून स्तरमा मात्रै काम भइरहेकाे छ ।

“अहिले पनि बढी काम गर्नु पर्ने समय भएकाले पत्राचार गरी कामकाे गति बढाउन भनेका छाैं भनिराखिएकोे छ,” उनले भने ।     विगत वर्षहरूमा निर्माणस्थल खाली गराउन धेरै बाधा रहेकामा अहिले त्यो हट्दै गइरहेको आयोजनाले जनाएको छ । बाँधका लागि ठूलो परिमाणमा माटो चाहिने हुँदा वन मन्त्रालय र भौतिक मन्त्रालयसँग सम्झौता भएको उनले बताए ।

बुटवाल–नारायणगढ सडक पूर्वी खण्डमा अहिलेसम्म वित्तीय प्रगति २० प्रतिशत पुगेको छ । सो खण्डमा भौतिक प्रगति ३२ प्रतिशत छ । निर्माण कम्पनीले अहिले विभिन्न काम एकसाथ अघि बढाइरहेको आयोजनाका प्रवक्ता (इञ्जीनियर) धिरज ढकालले बताए ।

“कतै नाली, कतै कल्भर्ट, कतै कालोपत्र, साना पुल निर्माण र ठूला पुलको जगको काम भइरहेको छ ,”उनले भने । ३ महिनायता निर्माणको गति बढेको र कालोपत्र भएपछि प्रगति अझै बढ्ने आयोजनाले जनाएको छ ।

काम गरिरहेको भए पनि अझै पनि पर्याप्त देखिदैन । निर्माण कम्पनी आफैँले लिएको लक्ष्यअनुसार पनि काम नभएकाले निर्माणको गति अझै बढाउनुपर्ने देखिएको उनले बताए ।

पछिल्लोपटक थपिएको अवधि आगामी साउनमा सकिँदैछ र सो अवधिसम्म निर्माण सक्न कठिन हुने देखिएको आयोजनाले जनाएको छ । अझै पनि महिनामा चार–पाँच प्रतिशत प्रगति निकाल्दै जाँदा समयमै नसकिए पनि केही समय थप्दा सकिने इञ्जीनियर ढकालको भनाइ थियो । वर्षासम्म काम ज्यादै कम भएकामा अहिले बढेर मासिक तीन प्रतिशत हाराहारीमा प्रगति भइरहेको छ ।

निर्माण कम्पनीसँग अहिले दुई सयभन्दा बढी उपकरण छन् भने पाँच–सातसम्म कामदार कार्यरत छन् । त्यति हुँदाहुँदै अझै आशा गरिएअनुसार निर्माण अघि बढ्न नसकेको उनले बताए । निर्माणस्थलमा अझै विद्युत्को पोल सार्न बाँकी छ । निर्माणस्थल खाली गराउन गर्नुपर्ने प्रक्रियागत काम सकिएर निर्माण कम्पनीले सार्ने काम गरिरहेको छ ।

आयोजनाले समन्वय गरेर गर्नुपर्ने कामभन्दा अब निर्माण कम्पनी आफैँले गर्नुपर्ने काम बढी बाँकी रहेको छ । सामान्य कामको सिलसिलामा आएको समस्या समन्वय भइरहेको हुन्छ । आयोजनाले निर्णय नै गर्नुपर्ने चाहिँ भएको छैन ।

दुई वर्ष पहिले वर्षाको समयमा सो सडक भएर यात्रा गर्न धेरै समस्या थियो । गत वर्ष पनि एक–दुई ठाउँमा डाइभर्सन रहेकाले समस्या भए पनि आगामी वर्षाका बेलामा त्यो नदोहोरिने आयोजनाको ठम्याइ थियो ।

एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सो सडक विस्तार भइरहेको छ । सरकारले पूर्व–पश्चिम राजमार्ग एसियाली राजमार्गको मापदण्डमा विस्तारको काम अघि बढाएको छ ।

विभिन्न खण्डमा कतै विस्तार अघि बढिसकेको छ भने कतै विस्तारका लागि तयारी भइरहेको छ । २०७५ मा सो सडक निर्माण सुरु भएको थियो । एक सय १४ किमी लम्बाइको सडक पूर्वी खण्ड र पश्चिम खण्ड गरी दुई आयोजनामार्फत काम अघि बढाइएको छ ।

दुवै प्याकेजको निर्माण साढे तीन वर्षमा सम्पन्न गर्ने गरी चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेशनलाई दिइएको थियो । गत वर्ष अवधि सकिएपछि एक वर्षका लागि थपिएको थियो ।

     सञ्चिता घिमिरे


Read Previous

तमानखोलाकाे विकट थास्पुरी गाउँमा एक घर, एक धारा जडान हुँदै   

Read Next

आधुनिक विधिबाट भुवा निकाल्न उपल्लो डोल्पाका च्याङ्ग्रा किसानलाई तालिम

Leave a Reply

Your email address will not be published.