काठमाडाैं । कर्णाली करिडोर कालोपत्र हुने भएको छ । कर्णाली करिडोरको कालीकोटको खुलालुदेखि हुम्लाको सलीसल्लासम्मको सडक कालोपत्र हुने भएको हो ।
कर्णाली करिडोरमा आगामी आर्थिक वर्षमा कालोपत्रको काम हुने भएको हाे । कर्णाली करिडोर सडक निर्माणको काम सम्पन्न भइसकेको र स्तरोन्नति काम पूरा भएपछि सडक विभागले कालोपत्र गर्ने कामलाई अगाडि बढाएको हिल्सा सिमकोट सडक आयोजनाका प्रमुख वीरेन्द्रकुमार यादवले बताए ।
‘खुलालु लैफु हुँदै सलीसल्लासम्मको सडकलाई कालोपत्र गर्ने कार्य थालनी भएको छ’, उनले भने, ‘पहिलोपटक सडक कालोपत्र हुन लागेको हो ।’
कालोपत्रका लागि सडक विभागले डिपिआर तयार गर्ने कार्य पूरा भएको र आगामी आवमा सडक कालोपत्र गर्ने कार्य सुरु हुने आयोजना प्रमुख यादवले जानकारी दिए ।
‘कालोपत्र सडक दुई लेनको हुनेछ, डिपिआर चाँडै तयार हुने र त्यसपछि विभागले बजेटको व्यवस्था गरेलगत्तै काम सुरु हुनेछ’, उनले भने, ‘बजेटको लागत अनुमान भइरहेको छ, आगामी आवमा बजेटको व्यवस्था भएर कालोपत्रको काम सुरु हुन्छ । कालीकोटदेखि हुम्लाको सलिसल्लासम्मको लम्बाइ एक सय २२ किलोमिटर रहेको र कालोपत्र गर्न कम्तीमा चारदेखि पाँच वर्ष लाग्ने प्रमुख यादवले बताए ।
कालोपत्र गर्न पूर्वका सडकलाई चौडा पार्ने, मोड सुधार गर्ने कार्य भइरहेको र यसका लागि छ वटा निर्माण कम्पनीमार्फत काम भइरहेको यादवले जानकारी दिए । आठ करोड लगानीमा अहिले सडक सुधारको काम भइरहेको छ ।