Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
नेपाली कांग्रेसको ऊर्जा नीति र चुनावी घोषणापत्रमा समेट्नु पर्ने मुद्दा ८ वर्षभित्र ३३ लाख घरधुरीमा विद्युतीय चुल्हो पुर्याउने कार्ययोजना निर्माण सुदूरपश्चिम प्रदेश राजधानी घोषणाका ४ वर्षमा पनि पूर्वाधारका काम अघि बढन सकेनन् अन्नपूर्ण पदमार्गमा पर्यटकीय चहलपहल बढ्दै, २०२२ मा अहिलेसम्म ७ हजार २१३ विदेशी पर्यटक आए बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले

चालू वर्षमा ७१८ मेगावाट विद्युत प्रणालीमा थपियाे,२५ आयोजनाले उत्पादन सुरु गरे


काठमाडौं । चालू आर्थिक वर्ष (२०७८/७९) सकिन लाग्दा २५ विद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । २०७८ साउनदेखि २०७९ असार अन्तिम सातासम्मको अवधिमा यी आयोजनाले उत्पादन गरेको ७१८.११ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

यो वर्ष देशकै ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी लगानीका विद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिएको नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागले जानकारी दिएको छ । विभागका अनुसार यी आयोजनाको विद्युत प्रसारण प्रणालीमा थपिएसँगै निजी लगानीमा निर्माण भई विद्युत उत्पादन गर्ने आयोजनाको संख्या १३३ पुगेको छ ।

अहिलेसम्म निजी लगानीमा निर्माण भएका १३२ वटाले व्यापारिक उत्पादन गरिरहेका छन् । एउटा सौर्य विद्युत आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ ।पछिल्लो पटक १ मेगावाटको सिमरा सौर्य विद्युत आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । अपि पावर कम्पनीले बाराको सिमरामा निर्माण गरेको यो सौर्य विद्युत आयोजनाले परीक्षण उत्पादन गरिरहेको छ । परीक्षणको चरण पूरा भएपछि मात्रै यो सौर्य विद्युत आयोजनाले व्यापारिक उत्पादन सुरु गर्ने छ ।

यो भन्दा अघि ७ मेगावाटको उपल्लाे खिम्ती–२ जलविद्युत आयोजना प्रसारण प्रणालीमा जोडिएको विभागले जनाएको छ । हिमालयन ऊर्जा विकास कम्पनीले निर्माण गरेको यो आयोजनाले गत जेठ १८ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

हिमालयन ऊर्जा विकासले नै निर्माण गरेको १२ मेगावाटको माथिल्लो खिम्ती आयोजनाले जेठ ४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको छ । निर्माण सम्पन्न भएको १ वर्षपछि विद्युत प्राधिकरणले ३३ केभी प्रसारण लाइनमा जोड्ने विकल्प दिएपछि यी आयोजनाहरू प्रसारण प्रणालीमा जोडिएका हुन् ।

यस्तै, ३० मेगावाटको न्यादी जलविद्युत आयोजना पनि चालू आर्थिक वर्षमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । बुटवल पावर कम्पनीको सहायक न्यादी हाइड्रो पावर कम्पनीले लमजुङमा निर्माण गरेको आयोजनाले गत बैशाखदेखि विद्युत उत्पादन सुरु गरेको हो । न्यादीले बैशाख २७ गतेदेखि विद्युत उत्पादन सुरु गरेको विभागको तथ्याङ्कमा उल्लेख छ ।

बैशाख १८ गते ६.४ मेमागाटको सुरी खोला राष्ट्रिय प्रसारण प्रणालीमा जोडियो । सुरी खोला हाइड्रो पावर कम्पनीले निर्माण गरेको यो आयोजनाले व्यापारिक विद्युत उत्पादन गरिरहेको हो ।

त्यसअघि २०७८ चैतमा साढे ८ मेगावाटको माथिल्लो हेवाखोला आयोजना प्रणालीमा थपियो । यो आयोजनाले चैत १९ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो । ९.९४ मेगावाटको काबेली ‘बी’–१ क्यासकेड, ५ मेगावाटको तल्लो तादी आयोजनाले पनि चैतबाट नै विद्युत उत्पादन सुरु गरेका हुन् ।

अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले पाँचचरमा निर्माण गरेको काबेली ‘बी’–१ क्यासकेडले चैत १२ गतेदेखि तथा बुद्धभूमि हाइड्रो पावर कम्पनीले निर्माण गरेको तल्लो तादीले चैत १० गतेबाट विद्युत प्राधिकरणलाई विद्युत बिक्री गर्न सुरु गरेका हुन् ।

फागुनमा उत्पादन सुरु गर्ने आयोजनामा ३ मेगावाटको ढल्केबर सौर्य विद्युत, २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला जलविद्युत आयोजना छन् । इन्दुशंकर चिनी उद्योगले उत्पादन गरेको ३ मेगावाट विद्युत पनि यही महिनामा प्रणालीमा जोडिएको हो ।

ढल्केबर सौर्य विद्युतले फागुन २१, माथिल्लो स्याङ्गे खोलाले फागुन १५ र इन्दुशंकरले फागुन १ गतेदेखि व्यापारिक विद्युत उत्पादन थालेका हुन् । माघ महिनामा एउटा मात्रै विद्युत आयोजना प्रणालीमा जोडिएको विभागले जनाएको छ ।

यो महिनामा सालुखुम्बुमा निर्माण सम्पन्न २४ मेगावाटको लिखुखोला ‘ए’ जलविद्युत आयोजना र १ मेगावाटको ढल्केबर सौर्य विद्युत आयोजना प्रसारण प्रणालीमा आएका छन् । लिखुखोला ‘ए’ ले माघ २५ र ढल्केबरले माघ २ गतेदेखि प्राधिकरणलाई विद्युत बिक्री गर्न सुरु गरेको हो ।

पुस महिनामा पनि २ विद्युत आयोजनाको विद्युत प्रसारण प्रणालीमा आएको छ । यो महिनामा ६.६ मेगावाटको साप्सु खोला र ११ मेगावाटको तल्लो खारेखोलाले व्यापारिक विद्युत उत्पादन सुरु गरेका हुन् । साप्सुले पुस २३ र तल्लो खारेले पुस ६ गतेदेखि व्यापारिक विद्युत उत्पादन सुरु गरेको प्राधिकरणले जनाएको छ ।

यस्तै, मंसिर महिनामा एउटा मात्रै आयोजनाले उत्पादन सुरु गर्यो । यो महिनामा ४ मेगावाटको माथिल्लो छ्याङ्दी खोलाको विद्युत मात्रै प्रणालीमा जोडिएको हो । यो आयोजनाले मंसिर २४ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको हो ।

कात्तिक महिनामा ३ तथा असोजमा २ गरी ५ वटा आयोजनाले विद्युत उत्पादन गरेका छन् । कात्तिकमा ५२.४ मेगावाटको लिखु–४, ६.२ मेगावाटको तल्लो जोगमाई, ५ मेगावाटको बेलचौतारा सौर्य विद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरे ।

असोजमा २० मेगावाटको तल्लो मोदी, ९.५ मेगावाटको माइबेनीले उत्पादन सुरु गरेका हुन् । तल्लो मोदीले असोज १४ गतेबाट र माइबेनीले असोज १ गतेबाट व्यापारिक उत्पादन गर्दै आएका छन् ।

यसैगरी, भदौ महिनामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ४ मेगावाटको रौतहट सौर्य विद्युत आयोजनाको गरी ४६० मेगावाट विद्युत प्रणालीमा आयो । माथिल्लो तामाकोसीले २०७८ असारदेखि नै विभिन्न चरणमा परीक्षण उत्पादन गरेकोमा भदौ ४ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो ।

चन्द्रनिगाहपुर सौर्य विद्युत आयोजनाले पनि भदौ ६ गतेदेखि व्यापारिक उत्पादन सुरु गरी प्राधिकरणलाई विद्युत बिक्री गर्न सुरु गरेको थियो । आर्थिक वर्षको सुरुवात साउनमा २५ मेगावाटको सिंगटी खोलाले उत्पादन सुरु गरेको थियो ।

निर्माण सम्पन्न भएको १ वर्षसम्म विद्युत खेर गएपछि सिंगटीले साउन १७ गतेबाट व्यापारिक विद्युत उत्पादन सुरु गरेको थियो ।यसै महिना ४.९८ मेगावाटको रिचेत खोलाले पनि उत्पादन सुरु गर्यो । यो आयोजनाले साउन २८ गतेदेखि व्यापारिक उत्पादन सुरु गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने विद्युत आयोजना

क्र.सं      आयोजना   जडित क्षमता
१.    सिंगटी खोला   २५ मेगावाट
२.    रिचेत खोला   ४.९८ मेगावाट
३.    माथिल्लो तामाकोसी   ४५६ मेगावाट
४.    चन्द्रनिगाहपुर सौर्य विद्युत   ४ मेगावाट
५.     माइबेनी   ९.५ मेगावाट
६.   तल्लो मोदी   २० मेगावाट
७.   बेलचौतारा सौर्य विद्युत   ५ मेगावाट
८.    तल्लो जोगमाई   ६.२ मेगावाट
९.     लिखु–४   ५२.४ मेगावाट
१०.   माथिल्लो छ्याङ्दी खोला ४ मेगावाट
११.   तल्लो खारेखोला   ११ मेगावाट
१२.   ढल्केबर सौर्य विद्युत   १ मेगावाट
१३.   साप्सु खोला   ६.६ मेगावाट
१४.    लिखु खोला ‘ए’   २४.२ मेगावाट
१५.   इन्दुशंकर चिनी उद्योग   ३ मेगावाट
१६.   माथिल्लो स्याङ्गे खोला   २.४ मेगावाट
१७.   ढल्केबर सौर्य विद्युत   ३ मेगावाट
१८.     तल्लो तादी   ४.९९३ मेगावाट
१९.    काबेली ‘बी’–१ क्यासकेड   ९.९४ मेगावाट
२०.    माथिल्लो हेवा खोला   ८.५ मेगावाट
२१.     सुरी खोला   ६.४ मेगावाट
२२.     न्यादी   ३० मेगावाट
२३.    माथिल्लो खिम्ती   १२ मेगावाट
२४.   उपल्लाे खिम्ती–२   ७ मेगावाट
२५    सिमरा सौर्य विद्युत   १ मेगावाट
  कूल   ७१८.११ मेगावाट

स्रोत: नेपाल विद्युत प्राधिकरण, विद्युत व्यापार विभाग


Read Previous

बेनिघाटदेखि लार्केभञ्ज्यांङसम्मको १८ किलोमिटर सडक सेनाले गर्यो हस्तान्तरण

Read Next

असन्तुलित बजेट खर्च प्रवृत्तिको निरन्तरता, असारमा मात्र दैनिक साढे सात अर्ब

Leave a Reply

Your email address will not be published.