Nepal Purbadhar

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022

बुधबार, अशोज १२, २०७९
Wednesday, September 28, 2022
बजेट पारदर्शितामा नेपाल १२ स्थान तल झर्यो, नागरिक सहभागितामा भने दक्षिण एशियामै उत्कृष्ट अवस्था ठिक नभएका २५ सवारी साधन ट्राफिक प्रहरीको कारवाहीमा, १४ नियन्त्रणमा कोषले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरको प्रत्याभुति गर्ने हरित हाइड्रोजनमा लगानी भित्र्याउन ‘नेपाल ग्रीन हाइड्रोजन समीट’ गर्दैछाैंः घले पश्चिम सेती अध्ययन अनुमतिपत्रका लागि भारतीय कम्पनीको आवेदन निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन अध्यादेश (यस्ता छन् विद्युत व्यापारका प्रावधानहरु) कोटेश्वर–सूर्यविनायक सडकमा प्राधिकरणले जोड्यो स्मार्ट बत्ती, झिलिमिली बन्यो सडक २ अर्ब बढी लगानीमा भरतपुर महानगरकाे ढल व्यवस्थापन गरिने

माथिल्लो कालंगागाडकाे बाँध क्षेत्रमा पानी भरेर परीक्षण,असारदेखि विद्युत उत्पादन


काठमाडौं । सूदुर पश्चिम प्रदेशको बझाङमा निर्माणाधीन ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । सानिगाड हाइड्रो कम्पनीले निर्माण गरेको आयोजनाको बाँध क्षेत्रका संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको हो ।

बाँध क्षेत्रका संरचनाको सबै काम सम्पन्न भइसकेकाले सञ्चालनमा ल्याउनुअघि पानी भरेर परीक्षण भइरहेको कम्पनीका सञ्चालक पुष्प चित्रकारले बताए । उनका अनुसार अहिले बाँध क्षेत्रका संरचनामा मात्रै पानी भरेर परीक्षण गर्ने कार्य भइरहेको छ ।

‘सुरुङमा केही काम बाँकी रहेकाले अहिले बाँध क्षेत्रको मात्रै परीक्षण भइरहेको हो,’ उनले भने,‘बाँकी काम सम्पन्न गरेर अरु संरचनामा पनि पानी भरेर परीक्षण गर्छौं ।’ उनले यो आयोजनाको सुरुङमा बाँकी रहेको काम सम्पन्न गरी आयोजना सञ्चालनमा आउन बढीमा डेढ महिना लाग्ने बताए ।

यो आयोजना सम्पन्न गर्न करिब ७ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा ८ वटा बैंकले ऋण लगानी गरेका छन् ।

कालंगागाडको परीक्षण सकियो

कालंगा बेसिनमा निर्माण भएको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य सम्पन्न भएको छ । सबै संरचनाको निर्माण पूरा भइसकेको आयोजनाबाट विद्युत उत्पादन सुरु गर्नुअघि पानी भरेर संरचनाको अवस्था ठिक भए/नभएको परीक्षण गरेर हेरिएको चित्रकारले बताए ।

‘कालंगागाडको बाँध, सुरुङ र विद्युतगृहको सम्पूर्ण परीक्षण सम्पन्न गरिसकेका छौं । यो आयोजना अब विद्युत उत्पादनको चरणमा पुगिसकेको छ’ उनले भने । प्रसारण लाइनको समस्याले यो आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा तत्काल जोड्न नसकिएको पनि उनले बताए ।

यो आयोजना सम्पन्न हुँदा ३ अर्ब २० करोड रुपैयाँ खर्च भएको अनुमान छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ६ बैंकले कूल लागतको ७५ प्रतिशत ऋण प्रवाह गरेका छन् । प्रवद्र्धक कम्पनीमार्फत २५ प्रतिशत लगानी गरिएको छ ।

प्रसारण लाइन पूरा नहुँदा विद्युत उत्पादनमा ढिलाइ

कालंगा बेसिनमा एउटै समूहले ३ जलविद्युत आयोजना एकसाथ निर्माण गरिरहेको छ । यी मध्ये कालंगागाड आयोजना विद्युत उत्पादनका लागि तयारी अवस्थामा छ । तर, विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा उत्पादन सुरु गर्न सकिएको छैन ।

आयोजनाको विद्युत प्रवाह गर्न आफैंले निर्माण गर्नुपर्ने प्रसारण लाइनको काम नसकिएकाले कालंगागाडबाट उत्पादन सुरु गर्न नसकिएको चित्रकारले बताए । ‘एउटा आयोजना त विद्युत उत्पादनका लागि तयार नै छ । तर, हामीले नै निर्माण गर्नुपर्ने प्रसारण लाइन नसकिएकाले तत्कालै प्रणालीमा जोड्न सकिएको छैन’ उनले भने ।

कालंका बेसिनमा निर्माण भएका यी सबै आयोजनाको विद्युत १३२ केभी बलाँच सबस्टेसनमा जोडिँदैछ । आयोजना स्थलदेखि बलाँच सबस्टेसनसम्म आवश्यक ४० किलोमिटर लामो प्रसारण लाइन प्रवद्र्धक कम्पनीहरूमार्फत निर्माण भइररहेको छ । भौगोलिक विकटता तथा लामो दुरीका कारण प्रसारण लाइन निर्माणमा अनेक समस्या आइलागेकाले समयमा सम्पन्न गर्न नसकिएको उनले स्पष्ट पारे ।

उनका अनुसार प्रसारण लाइनको टावर निर्माण कार्य सम्पन्न भइसकेको र अब तार तान्ने काम मात्रै बाँकी छ । बाँकी काम सम्पन्न गर्न एक महिना समय लाग्ने उनले बताए । प्रसारण लाइन सम्पन्न हुनासाथ कालंगागाडबाट विद्युत उत्पादन सुरु गर्ने कम्पनीको योजना छ । माथिल्लो कालंगागाड भने असारभित्र प्रसारण प्रणालीमा ल्याइसक्ने योजना छ ।

माथिल्लो सानीगाडबाट पुसदेखि मात्रै विद्युत उत्पादन

१०.७ मेगावाटको सानीगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन तालिका पुसमा पुगेको छ । आयोजनाको सिभिलतर्फको काम सम्पन्न भइनसकेकाले कालंगागाड र माथिल्लो कालंगागाडभन्दा ढिलो गरी सञ्चालनमा आउन लागेको हो ।

आयोजनाको सुरुङको काम बाँकी रहेकाले सञ्चालनमा आउन अझै ८ महिना लाग्ने देखिएको चित्रकारले जानकारी दिए । आयोजनाको हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको काम पनि भइरहेको छ । यो आयोजना सम्पन्न गर्न २ अर्ब २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) मा उल्लख भएको तालिका अनुसार अहिलेसम्ममा ३ वटै आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आइसक्नु पर्ने थियो । तर, भौगोलिक विकटता, स्थानीय अवरोध, कोराना (कोभिड–१९) महामारी, गत वर्ष बर्खामा आएको भीषण बाढीले सबै आयोजनाको संरचनामा पुर्याएको क्षतिलगायत कारणले विद्युत उत्पादनको तालिका पटक–पटक परिवर्तन हुन पुगेको हो ।

३ वटै आयोजना एउटै समूहले छुट्टा-छुट्टै कम्पनी मार्फत निर्माण गरिरहेको छ । ६४ मेगावाटका यी आयोजनामा ११ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । यी आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा सूदुर पश्चिम प्रदेशको विद्युतीकरणमा सहयोग पुग्नुका साथै, त्यस क्षेत्रको आर्थिक समृद्धिमा पनि योगदान पुग्नेछ ।

सबै आयोजनामा सिभिल तथा हाइड्रोमेकानिकलतर्फको काम नेपालकै सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रालिले गरिरहेको छ । यो निर्माण कम्पनीले ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको सिभिल संरचनाको काम पनि गरिरहेको छ ।


Read Previous

डेढ महिनामा दोस्रो पटक सार्वजनिक सवारी साधनको भाडा वृद्धि, बुधबारदेखि कार्यान्वयन हुने

Read Next

माथिल्लाे कालंगागाड जलविद्युत आयोजना (फाेटाे फिचर)

Leave a Reply

Your email address will not be published.