
काठमाडौं । क्षेत्रपाटीस्थित क्षेत्रपाटी नि:शुल्क क्लिनिकले आफ्नो पुरानो भवनको नजिकै नयाँ संरचना निर्माण गरिरहेको छ । भवन निर्माणमा काठमाडौं महानगरपालिकाको ५ करोड रुपैयाँ सहयोग रहेको छ । यसको कुल लागत भने ३५ करोड रुपैयाँ रहेको छ । भवन निर्माणका लागि अस्पतालको आन्तरिक आयका साथै दाताहरुबाट प्राप्त सहयोग पनि उपयोग भएको छ ।

निर्माणाधीन अत्याधुनिक भवन ८ तल्ले रहेको छ । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले २०७८ सालमा भवनको शिलान्यास गरेका थिए।
काठमाडौं महानगरले महानगर क्षेत्रभित्र २० वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रहरुको निर्माण गरिरहेको छ। क्षेत्रपाटी क्लिनिक यीनैमध्येको एक हो । क्लिनिकमा चिकित्सक परामर्श सेवाका साथै प्रयोगशाला परीक्षण सेवा पनि उपलब्ध हुनेछ । साथै निःशुल्क औषधि वितरण गरिनेछ ।

वि.सं. २०१३ सालमा स्थापना भएको क्षेत्रपाटी निःशुल्क चिकित्सालयले असहाय, गरिब तथा आर्थिक अभावमा परेकालाई निःशुल्क रूपमा उपचार गरिरहेको छ । चिकित्सालयमा २४ सै घण्टा इमर्जेन्सी सेवा, जनरल वार्ड, आईसीयू, भेन्टिलेटर, शल्यक्रिया सेवा, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध छ ।
