Nepal Purbadhar

शुक्रबार, असार ७, २०८१
Friday, June 21, 2024

शुक्रबार, असार ७, २०८१
Friday, June 21, 2024

ऊर्जा प्रभावकारी भवन निर्माणमा सहकार्य गर्न ललितपुर महानगर र बीन परियोजनाबीच समझदारी


ललितपुर । ऊर्जा प्रभावकारी घर/भवन निर्माण गर्न सहकार्य गर्ने उदेश्यले ललितपुर महानगर र बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन परियोजनाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझादारीपछि ललितपुर महानगरभित्र निर्माण हुने भवनलाई ऊर्जा प्रभावकारी बनाउनको लागि महानगरका प्राविधिकलाई दक्ष बनाउनेदेखि डिजाइनमा गर्नुपर्ने सुधार र नागरिक तहमा चेतना अभिवृद्धिमा सहकार्य हुनेछ ।

समझदारी पत्रमा महानगरको तफबार्ट मेयर चिरीबाबु महर्जन र परियोजना प्रमुख ड्यानियल नेयरको अनुपस्थितिमा उनको तर्फबाट परियोजना सल्लाहकार उषा मास्केले शुक्रबार हस्ताक्षर गरे ।

मेयर चिरीबाबु महर्जनले महानगरभित्र ऊर्जा प्रभावकारी भवन बनाउन नगरबासीलाई उत्साहित बनाउने, प्राविधिकलाई दक्ष बनाउने र महानगरको भवन निर्माण संहितामा नै ऊर्जा दक्षतासम्बन्धी मापदण्डलाई पनि समावेस गर्ने बताए । ‘महानगरबासीलाई ऊर्जा प्रभावकारी भवन निर्माणमा प्रोत्साहित गर्न उर्जा दक्षतासहितको नक्सा पास गर्न आउने घरधनीलाई निश्चित प्रतिशत करमा छुट दिने व्यवस्था गर्न सकिन्छ’ उनले भने ।

त्यस्तै, बीन परियोजना प्रमुख ड्यानिल नेयरले भर्जुअल उपस्थिति जनाउदै २ वर्षअघिसम्म पनि ऊर्जा प्रभावकारी भवन निर्माणको लागि विकसित देशको प्रावधानलाई जस्ताको त्यस्तै नेपालमा नक्कल गर्ने गरिएको बताए । ‘तर, अहिले देशभित्र नै गहन अध्ययनपछि स्थानीय रुपमा नै आवश्यक भवन निर्माणको मापदण्ड विकास गर्न सहयोग पुगेको छ’ उनले भने । ऊर्जा दक्षता भवन निर्माणको लागि स्थानीय तहबाटै आवश्यक मापदण्ड विकसित हुदै जानुपर्नेमा उनले जोड दिए । ललितपुर महानगरसँगको समझदारी थालनी मात्र भएको र अझै धेरै काम गर्न बाँकी रहेको उनको भनाइ छ ।

ललितपुर महानगरपालिका, सहरी योजना व्यवस्थापन समितिका संयोजक सन्तोष खड्काले एकै चोटी निजी घरमा ऊर्जा दक्षतालाई कार्यान्वयन गर्न नसकिए पनि सामुदायिक भवनमार्फत कार्यान्वयन गर्दै लैजान सकिने बताए ।

कार्यक्रममा प्रस्तुतिकरण दिदै बीन कार्यक्रमका टिम लिडर सुयेश प्रजापतिले महानगरभित्र उर्जा प्रभावकारी भवन निर्माण गर्नको लागि समझदारी महत्वपूणर् सहयोग पुग्ने बताए । ‘कस्तो ठाउँमा कस्तो भवन निर्माण गर्ने, ऊर्जा प्रभावकारी भवन निर्मणलाई प्रवद्र्धन गर्ने, भवनको डिजाइन, भौगोलिक अवस्थिति र मौसम अनुकुलन भवन निर्माण गर्नको लागि परियोजनाले महानगरलाई प्राविधिक सहयोग र दक्षता अभिवृद्धिमा सघाउनेछ’ उनले भने । विशेषगरी भवन संहिता बनाउन सहयोग पुर्याउनेछ ।

कार्यक्रममा बीन परियोजनाकी वरिष्ठ आर्किटेक्ट दिब्या आचार्यले ऊर्जाको दक्षतापूणर् प्रयोग वृद्धि गर्न देशभर निर्माण हुने घर तथा भवनहरुको डिजाइनमा विशेष ध्यान पुर्याउनुपर्ने बताइन । ‘प्रभावकारी डिजाइनमार्फत भवनले खपत गर्ने ऊर्जा २० देखि ३० प्रतिशत सम्म घटाउन सकिने अध्ययनले देखाएको छ’ उनले भनिन् । ऊर्जा प्रभावकारी घर निर्माण गर्दा यसको योजना निर्माण र डिजाइन गर्दा नै ध्यान दिनुपर्ने र घरको गारो, छानो र भेण्टिलेसनमा विशेष ख्याल गर्नुपर्ने बताइन् ।

त्यस्तै, सहरी योजनाकार ओम दि. राजोपाध्यायले ऊर्जा प्रभावकारी भनव निर्मणको लागि नीतिगत व्यवस्थालाई प्राथमिकतामा राख्नुपर्ने बताए । ‘यसको लागि दक्ष प्राविधिक जनशक्ति र तालिमको व्यवस्था गरिनुपर्छ’ उनले भने । कानूनी व्यवस्थाको अभाव भने पनि यथार्थमा स्थानीय सरकार सञ्चालन ऐन, सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली, सोह्रौ पञ्चवर्षिय योजनालगायतमा काम गर्नको लागि प्रशस्त व्यवस्था रहेको उल्लेख गरे ।

युरोपेली युनियनको सहयोगमा सञ्चालित ‘बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल’ (बीन) कार्यक्रमले गरेको अध्ययन अनुसार पछिल्लो समय घर/भवन निर्माण गर्दा परम्परागत भन्दा पनि पश्चिमी डिजाइनका घर निर्माणको क्रम बढिरहेको छ । यसले न्यून तापक्रम हुने उच्च हिमाली वा पहाडी क्षेत्रमा निर्माण भएका भवनलाई तताउन र तराइ क्षेत्रमा निर्माण भएका भवनलाई चिसो बनाउनको लागि अधिक ऊर्जा खपत हुने गरेको छ । यसको लागि घर तथा भवन निर्माण गर्दा भौगोलिक अवस्थिति, हावापानी, उचाइ र तापक्रमअनुसार डिजाइन गरिनु आवश्यक छ ।

बीन परियोजनाले ऊर्जा दक्ष भवन डिजाइन कसरी गर्ने भनेर सिकाउने स्रोत पुस्तिका (म्यानुअल) तयार गरेको छ । बढ्दो शहरीकरण र बजार माग अनुसार भवनको डिजाइन गर्ने गरिएको तर स्थानीय जलवायु, बढ्दो ऊर्जा खपतलगायतलाई वेवास्ता गर्ने गरिएको छ । तयार भएको स्रोत पुस्तिकाले इञ्जिनियरलगायतलाई ऊर्जा दक्ष बन्ने गरी भवन डिजाइन गर्न सहयोग पुग्नेछ । यसमा ऊर्जा खपत, नयाँ प्रविधिको प्रयोगले हुने फाइदा, छानो तथा पर्खाल र प्राकृतिक भेण्टिलेसन, झ्यालको अवस्थितिलगायतका विषयमा उल्लेख गरिएको छ ।


Read Previous

बजेट अभावले रोकियो वीरगञ्ज-रक्सौल जोड्ने सडक निर्माण 

Read Next

४ हजार मेगावाट विद्युत प्रवाह हुने देशकै तेस्रो ठूलो हेटौंडा सबस्टेसन सञ्चालन

Leave a Reply

Your email address will not be published.