Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

केयुद्वारा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण


काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण गरेको छ । केयुले विश्व विद्यालय परीसरमै ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको प्रविधि जडान गरी सफल परीक्षण गरेको हो ।

नेपालमै पहिलो ग्रीन हाइड्रोजन उत्पादन गरी इन्धनकोरूपमा रिफ्युलिङ स्टेसनमा भण्डारण गरेर त्यसलाई इन्धनकोरूपमा हाइड्रोजन गाडीमा भर्ने प्रविधिको परीक्षण गर्न सफल भएको केयुका सहप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए ।

उनका अनुसार रिफ्युलिङ स्टेसनको परीक्षणपछि अहिले हाइड्रोजन कारमा ग्रीन हाइड्रोजनलाई इन्धनकोरूपमा भर्न थालिएको छ । पहिलो पटक भएकाले हाइड्रोजन कारमा विस्तारै भर्ने कार्य गरिरहेको उनले जानकारी दिए ।

उनले ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन नेपालको इतिहासमै पहिलो पटक निर्माण गरेर परीक्षण समेत सफल बनाएको बताए । ‘ग्रीन हाइड्रोजनको क्षेत्रले केयुले गरेको परीक्षण निकै ठूलो उपलब्धी हो,’ उनले भने,‘यो उपलब्धीले हामी ग्रीन हाइड्रोजनलाई ऊर्जाकोरूपमा उपयोग गर्ने दिशामा एक कदम अगाडि बढेका छौं ।’

उनले नवनिर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको चाँडै विधिवतरूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट औपचारिक उद्घाटन गराउने बताए । औपचारिक उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीलाई ग्रीन हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनमा चढाउने कार्यक्रम बनाउने पनि उनले बताए ।

‘प्रधानमन्त्रीले सार्वसजिक कार्यक्रममा नै हाइड्रोजन गाडी चढ्ने घोषणा गरिसक्नु भएको छ । ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको औपचारिक उद्घाटनको दिनमा उहाँलाई हाइड्रोजन गाडी चलाउने कार्यक्रम बन्दैछ,’ उनले भने ।

केयुमा नमूनारुपमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापनाले व्यवसायीहरुले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा भविश्य अवश्य देख्ने अपेक्षा गरेको उनले बताए । ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको उद्घाटनपछि केयुसँग भएको हाइड्रोजन गाडी हाइड्रोजन इन्धनको प्रवद्र्धन गर्न विभिन्न स्थलमा लगेर प्रदर्शनीमा राखिने थापाले बताए ।

बैशाखमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पोमा पनि हाइड्रोजन गाडी प्रदर्शनमा राख्ने केयुको योजना छ ।साथै, हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको दिन राष्ट्रपति रामचन्द्र पौडेललाई हाइड्रोजन गाडी चढाउने तयारी केयुले गरेको छ ।

ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न प्रमुख राजनितिक दलका शीर्ष नेता, प्रतिनिधिसभाका सभामुख लगायतलाई पनि हाइड्रोजन गाडी चढाउने थापाले बताए । शीर्ष नेता तथा राजनितिक दलका प्रतिनिधिले ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवद्र्धन गरी इन्धनकोरूपमा उपयोग बढाउन प्रोत्साहन गर्दा नेपालले हाइड्रोजन इन्धनबाट चल्ने गाडीलाई स्वीकार गर्ने वातावण निर्माणमा सहयोग पुग्ने थापाको भनाई छ ।

कार्यविधि र संस्थागत संरचना बन्न आवश्यक

सरकारले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा निजी क्षेत्रको लगानी भित्र्याउन ‘ग्रीन हाइड्रोजन नीति, २०८० जारी गरिसकेको छ । तर, ग्रीन हाइड्रोजन उत्पादनका लागि कार्यविधि बनेको छैन । नीति कार्यान्वयन हुने संस्थागत संरचना पनि बनेको छैन ।

ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा चाँडोभन्दा चाँडो जान कार्यविधि तयार गरी संस्थागत संरचना निर्माण गरिनुपर्नेमा थापाले जोड दिए । ‘अहिलेसम्म नीतिमात्रै आएको छ । कार्यविधि छैन । कानून बन्न बाँकी छ,’ उनले भने, ‘व्यापारिकरूपमा ग्रीन हाइड्रोजन उत्पादन गर्न ‘ट्याक्स क्लियरेन्स’, भण्डारण तथा रिफ्युलिङ स्टेसन निर्माणको अनुमतिका लागि कार्यविधि नै चाहिन्छ । अब सरकारको ध्यान यो काममा जानुपर्छ । व्यवसायिक उत्पादनका लागि कार्यविधि बनाएर निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्नुपछ ।’

३५ वटा गाडी रिफ्युल गर्ने पाइटल स्केलको रिफ्युलिङ स्टेसनको डिजाइन तयार

केयुले मझौला किसिमको ३० देखि ३५ वटा गाडी प्रत्यक दिन रिफ्युल गर्न सकिने पाइलट स्केलको कमर्सियल रिफ्युलिङ स्टेसनको डिजाइन तयार गरेको छ । ग्रीन हाइड्रोजनको व्यापारीक उत्पादन गरी इन्धनकोरूपमा उपयोगका लागि रिफ्युलिङ स्टेसनको डिजाइन तयार पारेको थापाले जानकारी दिए ।

‘हामीले पाइलट स्केलको कमर्सियल रिफ्युलिङ स्टेसनको डिजाइन तयार गरेका छौं । यो रिफ्युलिङ स्टेसनमा लाग्ने उपकरण आयात गर्न उत्पादक कम्पनीसँग संवाद भइरहेको छ’, उनले भने ।

यस्तै प्रकारका पाइलट प्रोजेक्ट काठमाडौं, पोखरा, विराटनगर, हेटौंडा, भरतपुर लगायत मुख्य सरहमा निर्माण पनि निर्धाण गरेर हाइड्रोजन गाडीको संख्या बढाउँदै लैजानु पर्नेमा थापाले जोड दिए ।

देशका मुख्य सहरमा पाइलट स्केलको कमर्सियल रिफ्युलिङ स्टेसनको निर्माण गरी सञ्चालनमा ल्याउँदा मात्रै नेपालमा ग्रीन हाइड्रोजनको बजार बढ्न गई पेट्रोलियम ऊर्जाको खपत न्यूनिकरण गर्न सकिने उनले बताए ।

मुख्य गरी ग्रीन हाइड्रोजनलाई डिजेल गाडी, पेट्रोल गाडी, लामो दुरीमा चल्ने ट्रक, बस लगायत ठूला सवारी साधनमा इन्धनकोरूपमा उपयोग प्रवद्र्धन गर्न केयुले निरन्तर लविङको काम गर्ने उनले बताए ।


Read Previous

लगानी सम्मेलनमा बंगलादेशी उद्यमीलाई आकर्षित गर्न ढाकामा कार्यशाला  

Read Next

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

Leave a Reply

Your email address will not be published.