Nepal Purbadhar

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

आइतवार, मंसिर १७, २०८०
Sunday, December 3, 2023

सेती नदीको ९२ प्रतिशत निर्माण सकियो,३ महिनाभित्र प्रणालीमा जोड्ने तयारी


काठमाडौं । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाको ९२ प्रतिशत निर्माण पूरा भएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनीले लगानी गरेको आयोजनाको निर्माण पूरा हुने चरणमा पुगेको हो ।

सिभिल संरचना निर्माणको सम्पूर्ण काम सकिन लागेको र हाइड्रो तथा इलेक्ट्रोमेकानिकलतर्फको निर्माण भइरहेको आयोजना प्रमुख लेखनाथ पाण्डेले बताए । उनका अनुसार आयोजनाको पाइपलाइन बिछ्याउने केही काम बाँकी छ । सर्ज साफ्टको काम पनि बाँकी छ ।

‘बर्खामा पानी परिरहने हुँदा लामो समय काम प्रभावित हुँदा योजना अनुसार काम गर्न सकिएन,’ उनले भने, ‘पानी पर्न कम हुन थालेपछि निर्माणलाई तीव्रता दिएर चाँडै सम्पन्न गर्ने तयारीमा छौं ।’ उनले बाँध र डिसेन्डर बेसिनको काम सम्पन्न भइसकेको बताए ।

विद्युतगृहमा इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम धमाधम भइरहेको छ । आयोजनाको मुख्य काम सम्पन्न भइसकेकोमा बाँकी साना–तिना काम पूरा गरी आगामी मंसिरभित्र विद्युत उत्पादन सुरु गरिने पाण्डेले बताए ।

यसअघि आयोजनाको निर्माण २०७९ साल चैतभित्र सम्पन्न गर्ने तालिका थियो । यो अवधिमा आयोजना सम्पन्न हुन नसकेपछि फेरि मंसिरमा सम्पन्न गर्ने तालिका तय गरिएको हो । नेपाल विद्युत प्राधिकरणसँगको भएको पिपिए अनुसार आयोजनाको विद्युत उत्पादन सुरु गर्ने तालिका आगामी माघसम्मको भएपनि मंसिरभित्र सञ्चालनमा ल्याउने पाण्डेको दावी छ ।

यो आयोजना निर्माण सम्पन्न भई सञ्चालन आई उत्पादन हुने विद्युत विद्युतगृहबाट ४ किलोमिटर दुरीको लाहाचोक सबस्टेसनमा जोडिने गरी प्रसारण सम्झौता भएको छ । आयोजनाको प्रवद्र्धक कम्पनीले विद्युतगृहदेखि सबस्टेसनसम्म आवश्यक १३२ केभी प्रसारण लाइन निर्माण गरिरहेको छ । प्रसारण लाइनको टावर खडा गरिसकेर अहिले तार तान्ने काम भइरहेको पाण्डेले बताए । स्वीचयार्डको काम सम्पन्न हुन लागेको छ ।

आयोजना निर्माण सम्पन्न हुँदा ५ अर्ब रुपैयाँ खर्च हुने अनुमान छ । यो लागत कोभिड–१९ महामारीभन्दा अगाडिको हो । कोभिड–१९ को प्रभाव आयोजनामा केही देखिए पनि लागत नबढ्ने पोखरेलले दाबी गरे । कूल लागतको ७० प्रतिशत (साढे ३ अर्ब रुपैयाँ) बैंक तथा वित्तीय संस्थाको ऋण लगानी छ । ३० प्रतिशत (डेढ अर्ब रुपैयाँ) स्वपुँजी लगानी छ ।

आयोजनामा १ हजार ४ सय जना प्रवद्र्धक छन् । आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको १ वर्षपछिबाट नै प्रवद्र्धकलाई लाभांश वितरण गर्न सुरु गर्ने कम्पनीको लक्ष्य छ । यति धेरै प्रवद्र्धक रहेको आयोजना सम्पन्न भएको अर्को वर्षबाट लाभांश दिएर असल अभ्यासको थालनी गर्ने योजना कम्पनीका छ । २०७७ भदौदेखि यो आयोजनाको निर्माण सुरु गरिएको थियो ।


Read Previous

पुल मर्मत गर्न नेपाल–भारतको झुलाघाट नाका बन्द

Read Next

विद्युतीय सवारीका चार्जिङ स्टेशन निर्माणसम्बन्धी कार्यविधि

Leave a Reply

Your email address will not be published.