Nepal Purbadhar

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास   


भोजपुर ।  भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आज शिलान्यास गरेका हुन् ।

जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएकोमा संरचना निर्माणकाे काम सुरु गरिएकाे विमानस्थलले जनाएको छ । टर्मिनल भवन निर्माण सम्पन्न गर्न ५ करोड ४५ लाख रुपैयाँ (भ्याटसहित) लागत अनुमान गरिएकाे छ ।

करिब एक रोपनी ५ आना क्षेत्रफलमा निर्माण हुन लागेको टर्मिलन भवन अबकाे डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेकाे  नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार भवनमा निर्माणको जिम्मा आरवी अर्वन बिल्डर्स एन्ड सप्लायर्स कम्पनीले लिएको छ ।

यात्रुको चाप बढेको अवस्थामा सय जना यात्रुले सहज रूपमा टर्मिलन भवनको उपभोग गर्नसक्ने गरी डिजाइन गरिएको पनि उनले बताए । करिब एक सय ३२ रोपनी क्षेत्रमा फैलिएको टक्सार विमानस्थल ३०३५ अर्थात् आजभन्दा ४५ वर्ष अघिबाट सञ्चालनमा छ ।

५ सय ४५ मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको टक्सार विमानस्थलको धावनमार्ग २०७४ सालबाट कालोपत्र गरी सञ्चालनमा रहेको छ । यो विमानस्थलबाट नेपाल वायुसेवा निगमको जहाजले भोजपुर–काठमाडौँ उडान भर्दै आएको छ ।


Read Previous

गण्डकी प्रदेशमा ऊर्जा दक्षता भवन प्रवर्द्धन गर्न कार्यशाला   

Read Next

विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न -याली