दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।
कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीसहित परीक्षणको कामलाई अगाडि बढाइएको जानकारी दिए । शर्माले लट्ठाको भार परीक्षणको काम सुरु भएको बताए । ‘टावर जडानको काम सकियो, अब हामीमा ढिलोमा डेढ महिनाभित्र केबुलकार सञ्चालन गर्छौं, अब केबुलकारको परीक्षण सुरु गरेका छौं’ उनले भने ।
उनका अनुसार भार परीक्षणका लागि १५ दिन सामान बोक्ने डब्बा सञ्चालन गरिनेछ । उक्त डब्बामा ढुङ्गा पठाएर भार परीक्षणको काम भइरहेको छ, यसका लागि १०/१५ दिन त्यसको परीक्षण हुन्छ । त्यसपछि मान्छे बोक्ने डब्बाको परीक्षण हुनेछ । त्यसको अवधि पनि १५ दिनको रहनेछ । लगत्तै आकर्षक क्याबिनको परीक्षण गर्ने तयारी गरिएको छ । ‘सबै परीक्षण सकिएर ४५ दिनपछि प्रमाणपत्र पाएर व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँछौं’ उनले ने ।
तीन चरणका काम सम्पन्नपश्चात् अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र र अन्य सबै खालका सुरक्षा एवं सम्पन्न सम्बन्धित प्रमाणपत्र प्राप्त गरिने लिमिटेडका गुणस्तर एवं प्रविधि निर्देशक सुप्रियो मण्डलले जानकारी दिए । ‘सुरक्षा र गुणस्तर पहिलो भन्ने कम्पनीको न्यूनतम मान्यता रहेकाले हतारमा प्रतिस्पर्धाका लागि मात्र केबुलकारलाई व्यावसायिक सञ्चालनमा ल्याउँदैनौं’ उनले भने ।
प्रति घन्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबुलकार विभिन्न सिफ्ट गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ । केबुलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेस्टुरेन्ट एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए ।
विसं २०७५ साउनदेखि केबुलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबिआई बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको निर्देशक शिव शर्माले जानकारी दिए । पृथ्वी राजमार्गको केबुलकार चोकदेखि बन्दीपुरसम्म एक हजार सात सय मिटर लामो केबुलकारको तल्लो स्टेसनमा आकर्षक बगैँचा र पर्यटक कोर्ट असार १५ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।
केबुलकारसँगै पाँचतारे होटलको काम भने तीव्र गतिमा अगाडि बढेको छ । हाल दैनिक तीन सय कामदार परिचालन गरेर काम अगाडि बढाइएको छ । विसं २०८० मङ्सिरभित्र पाँचतारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
यहाँ ल्यान्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दीपुरको ऐतिहासिकता झल्कने गरी बन्दीपुर घडी ः बन्दीपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ । यस गार्डेनभित्र बटम स्टेसनको पाँच तला माथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको सञ्चालक उपाध्यायले जानकारी दिनुभयो । यसैगरी, वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।
बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबुलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ ।
केबुलकारको साधारण शेयरको सार्वजनिक निष्कासन (आइपिओ) खुल्ला गर्न सम्झौता भइसकेको छ । लिमिटेडको प्रतिशेयर अङ्कित मूल्य १ सय रूपैयाँ दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर प्रचलित कानुनबमोजिम सार्वजनिक निष्कासन तथा बिक्रीका लागि सम्झौता भइसकेको छ ।
३ अर्ब ४९ करोड कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रहेको छ । त्यसमध्ये चुक्ता पूँजीको दुई प्रतिशत अर्थात् ४ करोड ३० लाख परियोजना प्रभावित स्थानीयवासीलाई छुट्याइनेछ । चुक्ता पूँजीको १० प्रतिशत २१ करोड ५० लाख रूपैयाँ सर्वसाधारणका लागि छुट्याइने लिमिटेडले जनाएको छ ।
आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् ।