Nepal Purbadhar

२ वर्षसम्म विद्युत महसुल नतिरेपछि रोल्पा सिमेन्टको लाइन काटियो


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले झण्डै २ वर्षसम्म विद्युत महसुल तिर्न अटेर गरेपछि रोल्पा सिमेन्ट उद्योगको लाइन काटेको छ । प्राधिकरण रोल्पा वितरण केन्द्रले पटक पटक ताकेता गर्दा समेत महसुल तिर्न नआएपछि आइतबार उद्योगको लाइन काटेको हो ।

विद्युत बक्यौता साढे ८ करोड पुगिसक्दा समेत तिर्न नआएपछि लाइन काटिएको प्राधिकरण नेपालगञ्ज प्रादेशिक कार्यालयका प्रमुख हरि पाण्डेले बताए । ‘उद्योगले विभिन्न कारण देखाउँदै झण्डै २ वर्षदेखि विद्युत महसुल तिरेको थिएन,’ उनले भने,‘तत्कालै तिर्ने सम्भावना नदेखिएपछि सिमेन्ट उद्योगको लाइन काटिदिएका छौं।’

उनले लाइन काटिएपछि उद्योगबाट २५ लाख रुपैयाँ तत्कालै तिर्ने भन्ने खबर आएपनि कूल बक्यौताको २५ प्रतिशतभन्दा कम रकम भएकाले नलिएको बताए । कूल बक्यौताको २५ प्रतिशत रकम बुझाएमा भने उद्योगलाई बाँकी बक्यौता किस्ताबन्दीमा तिर्ने सर्तमा लाइन जोड्न सकिने पाण्डेले स्पष्ट पारे ।

उनले नेपालगञ्ज प्रादेशिक कार्यालय अन्तर्गतका वितरण केन्द्रहरूले चालू आर्थिक वर्षको ८ महिना (फागुनसम्म) मा महसुल तिर्न अटेर गर्ने १० हजार ग्राहकको लाइन काटिएको जानकारी दिए । उनका अनुसार गएको २ महिनामा मात्रै ५ हजार जनाको लाइन काटिएको छ ।

लाइन काटिएका ग्राहकबाट बाँकी बक्यौता र जरिवानासहित १६ करोड रुपैयाँ बढी असुल गर्न सफल भएको पनि उनले बताए ।


Read Previous

वर्ष २०७९ मा ५ सय मेगावाट बिजुली प्रणालीमा थपियो

Read Next

‘निजी क्षेत्रलाई अनुमति दिँदा आन्तरिक खपत र अन्तरदेशीय विद्युत व्यापार स्वतः बढ्छ’