Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

विमानस्थल पुग्ने सडक तत्काल मर्मत गर्न भौतिक पूर्वाधार मन्त्री श्रेष्ठकाे निर्देशन


काठमाडौं । उप-प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर-बालाजु-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक तत्कालै मर्मत गर्न निर्देशन दिएका छन् । काठमाडौं उपत्यका भित्रका सडक गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उनले विशेष योजना बनाएर स्तरउन्नती गर्न निर्देशन दिएका हुन् ।

“विशेषत लैनचौरदेखि बालाजुसम्म र केशरहमहल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतीका लागि तत्काल ठोस योजना बनाउनुपर्यो,”सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा बाेल्दै मन्त्री श्रेष्ठले भने ।

उनले काठमाडौं उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाँउमा प्रभावकारी योजना बनाउन निर्देशन दिए । “जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन,” उनले भने, “सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ” सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उनकाे जोड थियो ।

नयाँ सडकमा अनिवार्यरूपमा नयाँ ढङ्गले जानेगरी सम्झदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्न सम्बन्धित निकायबीच सम्झादारी गर्नुपर्ने बताए । उनले सडक बनिसकेका ठाँउमा यथावत समस्या तत्काल हल गर्न प्रभावकारी योजना बनाउनपर्ने उनले बताए ।

सडक मर्मत सम्भार, विस्तार र निर्माणमा सधैँजसो दोहोरीने समस्या हल गर्नका लागि ‘युटीलिटि करिडोर’ को अवधारणाबारे मन्त्रालय र प्रधानमन्त्रीसँग समेत छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

उनले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत निर्देशन दिए । बैठकमा सडकसँग सम्बन्धित विभिन्न आठ निकायका प्रतिनिधिको सहभागिता रहेको थियो ।

बैठकमा सडक विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग एवं सहरी तथा सहायक राजमार्ग सडक, नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएको १५ वटा सडक र आयोजना कार्यान्वयन निर्देशनालयले स्वीकृति पाएको १८ वटा सडकको अवस्थाबारे छलफल गरिएको थियो ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको दुरअवस्थाले सर्वसाधारणलाई सास्ती पुर्याएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । “समयमा सडक मर्मत नहुँदा राष्ट्रिय बेज्जती भइसक्यो । सबै निकायले समन्वय बढाउन आवश्यक छ । दोषारोपण र दोहोरोपनमा समय खर्चनु हुँदैन ” उनले भने ।

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ले समयमा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै भूमिगत तार व्यवस्थापनको जटिलता बुझ्न आग्रह समेत गरे । “निर्माण व्यवसायीहरूले विभिन्न बहानामा काम गर्न नसकेको कारण देखाइरहेका छन् । प्राधिकरणले कतिपय ठाँउमा समयमा काम सम्पन्न गर्न सकेको छैन । तर भूमिगत तार व्यवस्थापनका प्राविधिक जटिलताहरू धेरै छन् ” उनले भने ।

उनले सडक निर्माणको कामलाई दु्रतगतिमा सम्पन्न गर्न प्राधिकरण सधैँ तयार रहेको  बताए । आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले पनि समन्वय बढाएर काम सम्पन्न गर्न तयार रहेको बताए । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका उपमहाप्रबन्धक डिपी चापागाईँले विद्यमान रणनीति परिवर्तन गरेर निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राखे ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले काठमाडौँ उपत्यकाभित्र मुख्य र अन्य सड्कमा काठमाडौँ उपत्यका खोनेपानी लिमिटेडका कारण धेरै समस्या देखिएको जनाएको थियो । अनुगमन कार्यालयका अनुसार पानीको ‘लिकेज’का कारण समयमा सडक मर्मतसम्भार गर्न समस्या र मर्मत गरिएका सडकमा समेत बारम्बार समस्या दोहोरिने गरेको छ ।

अनुगमन कार्यालयका अनुसार आयोजना कार्यान्वयन निर्देशनालयले बिना स्वीकृति सडक खन्ने र पाइपलाइन सम्बन्धी  काम समयमा सम्पन्न नगर्ने गरेको पाइएको हो । यस्तै, विद्युत् प्राधिकरणले तार व्यवस्थापन नगर्दा सड्क क्षति र दुर्घटनाको जोखिम बढाएको समस्याबारे छलफल भएको थियो ।

बैठकमा सम्बन्धित सबै निकायले समयमा काम सम्पन्न गर्न नसक्नुका कारणबारे समेत छलफल भएको थियो । बैठकले सम्बन्धित निकायबीच समन्वय बढाउने र सम्झदारीमा नयाँ बनेका सडकका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।

लैनचौर–महाराजगञ्ज तथा लैनचौर–सोह्रखुट्टे –बालाजु चोक सडक आवधिक मर्मत गर्न कठिनाइबारे विश्व बैङ्क, मन्त्रालय र विभागसँग छलफल गर्ने निर्णय गरिएको छ । यस्तै, काठमाडौँ उपत्यकाका सबै सडकको एकीकृत तथ्याङ्क प्रणाली तयार गर्ने र बल्खु तरकारी बजारको सडक कालोपत्रे गर्नेसम्बन्धी बजार व्यवसायी समितिलाई पत्राचार गर्ने लगायतका निर्णय भएको छ ।


Read Previous

नबिल बैंकको हरितगृह ग्यास उत्सर्जन प्रतिवेदन सार्वजनिक

Read Next

जमीनभित्र हवाई सुरुङमार्फत औषधी उद्योगको ऊर्जा खपत घटाउन अनुसन्धान सुरु

Leave a Reply

Your email address will not be published.