Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विद्युत् मिटर जडान नहुँदा सिँचाइमा समस्या


त्रिवेणी । सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् मिटर जडान नहुँदा किसान समस्यामा परेका छन्। विद्युतीय मोटरबाट सिँचाइ गर्न खेतखेतमा गाडिएका बोरिङ सञ्चालनका लागि विद्युत् नपुगेका कारण समस्या भएको कावासोतीका किसान राजु देवकोटाले बताए।

बोरिङ गाडिएको भए पनि विद्युत् विस्तारसहित मिटर जडान गर्न नसक्दा सिँचाइका लागि समस्या भएको उनले बताए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विभिन्न स्थानमा अहिले सिँचाइका लागि विद्युतीकरण समस्या बनेको छ। ‘गण्डकी प्रदेशको जलस्रोत तथा सिँचाइ मन्त्रालयले तीन वर्षअघि डिप बोरिङमा लगानी गरेको थियो । अहिले बोरिङ छ, मोटर छ, तर अझै विद्युत् पुर्याउन सकेका छैनौँ,’ देवकोटाले भने, ‘यसले सिँचाइमा समस्या भएको छ।’

कृषियोग्य भूमि सिँचाइका लागि गाडिएको डिप बोरिङ अलपत्र अवस्थामा छन् । सरकारका विभिन्न निकायबाट सिँचाइ गर्न भनी जिल्लाका विभिन्न पालिकामा डिप बोरिङ गाड्ने काम गरियो तर, बोरिङ सञ्चालन गर्न विद्युत् नपुग्दा त्यस्ता डिप बोरिङ अलपत्र अवस्थामा पुगेका छन्। विद्युतीय मोटरबाट बोरिङ सञ्चालन गर्ने गरी काम गरिएको भए पनि अझैसम्म विद्युत् जडान गर्न नसक्दा समस्या परेको हो। कावासोती–१४ मा करिब ८४ बिघा क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रदेश सरकारको सहयोगमा बोरिङ गाडिएको थियो।

बोरिङ गाडिएको स्थानसम्म विद्युतीकरण गर्न कतैबाट समन्वय नहुँदा बोरिङ खिला लागेर नष्ट हुने अवस्थामा पुगेका छन्। विद्युतीकरणसँगै मिटर जडानका लागि विद्युत् कार्यालयमा ताकेता गर्दासमेत समस्या समाधान हुननसकेको मध्यविन्दुका किसान मनबहादुर थनेतले बताए। मध्यविन्दुका विभिन्न स्थानमासमेत सिँचाइ गर्न भनेर गाडिएका कतिपय बोरिङ सञ्चालन हुन नसकेको मध्यविन्दुका किसान दुर्गा भुर्तेलले बताए।

नवलपुरका कावासोती, मध्यविन्दु, देवचुलीसहित विभिन्न पालिकामा सरकारका विभिन्न निकायको अनुदानमा बोरिङ गाडिएका छन्। तर बोरिङ गाडिए पनि विद्युत्को विस्तार उक्त स्थानमा नहुँदा सञ्चालनमा समस्या हुने गरेको छ। समन्वयको अभावका कारण सिँचाइका बोरिङमा विद्युत् उपलब्ध गराउन समस्या हुने गरको नेपाल विद्युत् प्राधिकरण कावासोती शाखाका प्रमुख अमृतकुमार कर्णले बताए।

‘हामीसँगै खासै समन्वय हुँदैन, खेतको बीचमा बोरिङ गाड्नुहुन्छ, तर त्यहाँसम्म तारपोल पुगेकै हुँदैन,’ कार्यालय प्रमुख कर्णले भने, ‘बोरिङ गाड्दा सोही बजेटमा तार पोल गाड्ने काम गरे हामीलाई विद्युत् दिन समस्या हुँदैन।’ किसानले बोरिङ गाडिसकेपछि विद्युत् माग गर्ने गरेको र आफूहरूकोसमेत योजना र सोहीअनुसार बजेट व्यवस्थापन नहुँदा विद्युत् जडानमा समस्या हुने गरेको कार्यालय प्रमुख कर्णले बताए।

कतिपय ठाउँमा तार, पोल पुगेको भए पनि थ्रि फेज तार नहुने, भोल्टजको समस्या हुने हुँदा बोरिङ गाड्नुपूर्व समन्वय गरे सहजता हुने उनले बताए। समन्वयको कमिका कारणनै सिँचाइका लागि गाडिएका बोरिङ सञ्चालनमा समस्या उत्पन्न भएको उनको भनाइ छ।


Read Previous

तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

Read Next

दुई लघुवित्तले घोषणा गरे लाभांश

Leave a Reply

Your email address will not be published.