Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

चीनले बनायो साढे ७ करोड नागरिकको विद्युत माग धान्ने एउटै जलविद्युत आयोजना


काठमाडौं । चीनले साढे ७ करोड नागरिकको विद्युत माग व्यवस्थापन गर्न सक्ने १६ हजार मेगावाट क्षमताको एउटै जलाशय जलविद्युत आयोजना निर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरेको छ । चीनले दक्षिण पश्चिम भेगमा जिन्सा नदीमा बैहेतान जलाशय जलविद्युत आयोजनाकाे निर्माण पूरा गरी पूर्ण क्षमतामा सञ्चालन गरेको हो ।

जलविद्युत आयोजनाको विद्युतगृहमा जडित १६ वटै युनिटबाट विद्युत उत्पादन सुरु भइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारमा जनाइए अनुसार विभिन्न चरणको परीक्षणपछि आयोजनाका सम्पूर्ण युनिटले विद्युत उत्पादन गरिरहेका छन् ।

आयोजनाले वार्षिकरूपमा उत्पादन गर्ने ६२ हजार ४ सय गिगावाट घन्टा विद्युतबाट साढे ७ कराेड नागरिकमा स्वच्छ ऊर्जा पुर्याउन सकिने समाचारमा उल्लेख छ । चाइना थ्री गर्जेज कर्पोरेशनले यो आयोजना  निर्माण गरी सञ्चालनमा ल्याएको हो ।

बैहेतान जलविद्युत आयोजना सञ्चालनमा आउँदा वार्षिक १९.६८ मिलियन टन कोइलाको खपत बचत गर्न सकिने समाचारमा जनाइएको छ । यति कोइलाको खपत बचत हुँदा ५१.६ मिलियन टन कार्बन उत्सर्जन न्युनिकरण गर्न सम्भव हुनेछ ।

आयोजनाको विद्युतगृहमा १ हजार मेगावाटका १६ वटा उत्पादन युनिट छन् । इन्जिनियरिङ चुनौतीपूर्ण मानिएको यो आयोजना चीनको कार्बन उत्सर्जन घटाउने लक्ष्य पूरा गर्नका लागि पनि महत्त्वपूर्ण मानिएको छ ।

सन् २०२१ को जुनमा  बैहेतन आयोजनाकाे पहिलो र दोस्रो युनिट सञ्चालन गरिएकाे थियो । पहिलो र दोस्रो युनिट सञ्चालनमा आएको १८ महिनापछि सबै १६ वटै युनिट सञ्चालन गर्न सम्भव भएको हो । पहिलो र दोस्रो युनिटबाट मात्रै अहिलेसम्म ५३ अर्ब किलोवाट विद्युत उत्पादन भइसकेको चाइना मिडिया ग्रुप (सिएमजी) ले जनाएको छ ।

आयोजनाले उत्पादन गरेको विद्युत उच्च क्षमताको प्रसारण लाइन निर्माण गरी जियाङ्सु र झेजियाङ प्रान्तमा पुर्याएर खपत गरिने छ । चीनका यी दुई प्रमुख प्रान्त  कृषि र औद्योगिकरणमा अगाडि छन् ।

बैहेतानको विद्युतगृहदेखि जियाङ्सुसम्म २ हजार ८० किलोमिटर लामो उच्च क्षमताको प्रसारण लाइन निर्माण गरिएको छ । झेजियाङसम्म २ हजार १ सय ४० किलोमिटर लामो प्रसारण लाइन निर्माणणधीन छ । यो प्रसारण लाइन सन् २०२३ भित्र सञ्चालनमा आउनेछ । यो लाइनले मात्रै ८ हजार मेगावाट विद्युत बोक्न सक्ने समाचारमा जनाइएको छ ।

यसअघि मध्य चीनको हुवेइ प्रान्तमा विश्वकै पहिलो ठूलो २२ हजार ५ सय मेगावाटको थ्री गर्जेज जलाशय आयोजना पनि चाइना थ्री गर्जेजले नै निर्माण गरी सञ्चालन गरिरहेको छ । दक्षिणी चीनको युनान र सिचुआन प्रान्तको जिन्सा नदीमा निर्माण भएको यो विश्वकै दोस्रो ठूलो जलाशय जलविद्युत आयोजना हो । जिन्सा नदी याङ्ट्जे नदीको माथिल्लो तटिय क्षेत्रमा पर्दछ ।

जिन्सा नदीमा निर्माण गरिएको आयोजनाको बाँधलाई इन्जिनियरिङको उत्कृष्ट नमूना मानिएको छ । यो आयोजनाबो बाँध समुन्द्री सहतबाट ५ हजार १ सय मिटर उचाईमा रहेको नदीमा निर्माण गरिएकाले पनि इन्जिनियरिङको उत्कृष्ट नूमना मानिएको हो ।

५ हजार १ सय मिटरको उचाईमा रहेको नदी जलविद्युत उत्पादनका लागि उपयुक्त भए पनि पानीको चापको मात्रा बहन गर्न भने चुनौतीपूर्ण हुने समाचारमा जनाइएको छ । यो आयोजनाको जलाशयको उचाई २८९ तथा लम्बाई ७०९ मिटर छ । नदीमा आउने बाढी रोक्न बाँधको छेउमा ३ वटा दबावरहित ‘फ्लड स्पिल वे’ बनाइएको छ । यो फ्लड स्पिल वे ले प्रतिसेकेन्ड ४७ मिटरको गतिमा पानी छोड्न सक्छ ।

जिन्सा नदी बेसिन उच्च क्षमताका धेरै जलविद्युत आयोजना निर्माण भएको विश्वकै ठूलो स्वच्छ ऊर्जाको कोरिडोर हो । जिन्साको तल्लो तटिय क्षेत्रमा अहिले थप ३० हजार ४ सय मेगावाट बढीका ३ जलविद्युत आयोजना सञ्चालनमा छन् ।

यो नदी बेसिनमा बैहेतानबाहेक १३ हजार ८ सय ६० मेगावाटको सिलुओडु, १० हजार २ सय मेगावाटको बुडोङ्दे र ६ हजार ४ सय मेगावाटको सियाङजियाब जलविद्युत आयोजना सञ्चालनमा छन् ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीको सहयोगमा अनुवाद


Read Previous

काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

Read Next

सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड

Leave a Reply

Your email address will not be published.