Nepal Purbadhar

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024

आइतवार, जेष्ठ ६, २०८१
Sunday, May 19, 2024
३ पटक म्याद थप गर्दा पनि सेती नदीमा निर्माणाधीन पुलकाे प्रगति २५ प्रतिशत मात्रै    विकासको उपहास : पुल एकातिर, खोला अर्कैतिर    ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने धादिङ र चितवनका विकट चेपाङ बस्तीमा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच अमलेखगञ्ज-लोथर ‘पेट्रोलियम पाइप लाइन’ विस्तारकाे काम चाँडै सुरु गर्ने निगमकाे तयारी   गोन्द्राङ–देवनगर ३३ केभी प्रसारण लाइन र देवनगर सबस्टेसनकाे औपचारिक उद्घाटन कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै    पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी-घुम्ती मार्ग १६ दिन बन्द हुने  

जीप व्यवसायीकाे मनाेमानी, ५ किलोमिटरकै २ सय रूपैयाँ भाडा !


बझाङ। खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीका होटल सञ्चालक राजेन्द्र खत्रीलाई नजिकको तमैल बजार जान गाडी भाडाकै चिन्ता लाग्छ । कालुखेतीबाट नजिकको बजार तमैल नै हो ।

कालुखेतीबाट पैदल हिँड्दा साढे २ घण्टा लाग्ने तमैलमा जीप जाँदा आधा घण्टा समय लाग्छ । त्यो दूरीमा जीप व्यवसायीले भने ३५० रूपैयाँ असुल गर्दै आएका छन् । ‘सानोतिनो सामान ल्याउन तमैल बजार पुग्नैपर्छ’, उनले भने, ‘तमैल पुग्न बाटोमै झण्डै  हजार रूपैयाँ सकिन्छ । हामीजस्तो सानो व्यवसायीलाई छोटो बाटोमै बढी खर्च भए पनि केको व्यवसाय गर्नु ?’

खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाका कुलप्रसाद जोशी पनि सदरमुकामबाट घर जान भाडाकै चिन्ता लाग्ने बताउँछन । ‘घरतिर हरेक हप्ता जानुपर्छ । बाटोमै धेरै खर्च हुन्छ । जीप सञ्चालकले मनोमानी तरिकाले गाडी भाडा लिन्छन् । प्रतिवाद कसैले गर्दैैनन्’ उनी भन्छन् । उनका अनुसार छान्नामा जीप सञ्चालक कम यात्रु भए नजाने तर क्षमताभन्दा बढी भए पनि थपिहाल्छन् । ‘कति दिन तमैल बजारमै थुप्रो जीप भएर पनि हिँडेर गइयो’, उनले भने, जीप नभरिञ्जेल कुनै ठाउँबाट पनि हिँड्दैनन् तर जीप भरिए जुन ठाउँबाट चढे पनि सयभन्दा तल लिँदैनन् ।’

खप्तडछान्नामा अघिल्लो सरकारको पालामा एक पटक मूल्य निर्धारण गरिएको थियो । ‘प्रतिकिलोमिटर  १२ रूपैयाँ तोकेर तमैल–कालुखेती–गडराय–थामलेकको भाडा निर्धारण गरिएको थियो’, खप्तडछान्ना–५ का राजेश कार्कीले भने, ‘त्यो बेलामा कालुखेतीबाट १२० मै तमैल पुग्थ्यौँ । पछि सडक बिग्रेको, डिजेलको मूल्य बढेको भन्दै व्यापारीले मूल्य बढाइरहे । पालिकाले कुनै सुनुवाइ गरेन ।’

उनका अनुसार भाडाको विषयलाई लिएर पटकपटक कुरा उठ्दा पनि पालिकाले चासो दिएको छैन । ‘कालुखेतीबाट गडरायसम्म करिब ५ किलोमिटर दूरी छ । त्यसमा पनि व्यवसायीले २ सय असुल्दै आएका छन्’ उनले भने ।

गडरायका ध्रुव रोकाया दसैँ बिदामा घर आएको बेला सम्झिँदै भन्छन, ‘घर आएको बेला गाडी चालकसँग झगडा नै भयो । रुट प्रमिट पाएका सडकमा पनि तेब्बर भाडा लिएको भन्दै झगडा भयो । पछि ठूलो लफडा हुनसक्ने भन्दै बोलेनौँ ।’

उनले पनि पालिकाले भाडा यकिन गरी बढी पैसा असुल्ने जीप व्यवसायीलाई कारबाही गर्नुपर्ने बताउँछन् । ‘जीप व्यवसायीलाई जसले जति भाडा लिए पनि हुन्छ भन्ने भएको छ । १० मिनेटको बाटोमा गाडी चढे पनि १ सयभन्दा बढी असुल्छन्’  यता जीप व्यवसायी हेमराज थापा जीप भाडा अलि बढी नै भएको स्वीकार्छन ।

जीपको भाडा अलि बढी नै हो तर सडकको अवस्थाअनुसार त्यो भाडा केही पनि होइनजस्तो लाग्छ उनले भने । सरकारले सडक अलि गतिलो बनाइदिएको भए भाडा निकै सस्तो हुने उनकाे भनाइ छ ।

गाडी भाडाको विषयमा हामी जीप व्यवसायी आफैँले सल्लाह गरेर एक मूल्य तोकेका हौँ । गाडी छान्नामा दुई/तीन ठाउँमै खोलामा हाल्नुपर्छ । खोलामा हाल्दा हप्तामै ८/१० हजारका टायर फेर्नुपर्छ । त्यो हेर्न हो भने व्यवसायीलाई पनि निकै मर्का परिरहेकाे उनकाे भनाइ छ ।

थापाका अनुसार सरकारले सडक बलियो बनाइदिए जीप भाडा अन्य ठाउँको जस्तै हुन्थ्यो । ‘सबैले हामीलाई मात्रै दोष दिन्छन् । यहाँ हिउँदकै महिनामा पहिरो आएर सडक अवरुद्ध हुँदासमेत व्यवसायीले पहिरो पन्छाएर यात्रुको सुविधाका लागि जीप गुडाउनुपर्छ’ उनले भने ।

अब नयाँ भाडा निर्धारण हुन्छः पालिका

खप्तडछान्ना गाउँपालिकाका प्रवक्ता रमानन्द जोशी भने गाउँपालिकाले प्रतिकिलोमिटर २० रूपैयाँ निर्णय गरेर प्रशासनलाई पठाएको बताए । ‘हामीले पालिकामा निर्णय गरेर नयाँ मूल्यदर प्रशासनलाई पठाएका छौँ । उताबाट पत्र आएको छैन । त्यसपछि जीप भाडामा एकरूपता हुन्छ’  उनले भने ।

प्रवक्ता जोशीका अनुसार छान्नामा धेरै ठाउँमा पहिरो आउँदा सडक अवरुद्ध हुने गरेको छ । ‘गत वर्षको बाढीले सडक पूरै तहसनहस गरेको हुँदा बाटो निकै अवरुद्ध हुने भएपछि जीप भाडा निर्धारण गर्न सकिएको थिएन । अब तुरुन्तै नयाँ भाडादर लागू हुन्छ’ उनले भने ।

सडकलाई दिगोरूपमा टिकाउन तथा १२ महिना सञ्चालन गर्नका लागि पनि पालिकाले सबै निकायसँग छलफल गरिरहेको उनले बताए । अहिले छान्नामा मात्रै डेढ दर्जन जीप सञ्चालनमा छन् । गाडी भाडा बढी भएकै कारण व्यवसायीले जीप थप्दै गएकाे स्थानीयको बुझाइ छ । रासस


Read Previous

होटल व्यवसायी महासङ्घको महाधिवेशन चितवनमा

Read Next

काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न स्थानीय बासिन्दाको माग

Leave a Reply

Your email address will not be published.