
म्याग्दी। असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको पाउद्वारदेखि खोप्रा जोड्ने पदमार्ग स्थानीयवासीको श्रमदानबाट पुनः सञ्चालनमा आएको छ।
अन्नपूर्ण गाउँपालिका-५ स्थित पाउद्वार गाउँका बासिन्दाले श्रमदान गरेर पाउद्वार-खोप्रा-खयर पदमार्गअन्तर्गत पाउद्वार-हिलडाँडा-लरेनी खण्डको मर्मत गरेका हुन्।
पाउद्वार पर्यटन सहकारी संस्थाका सचिव हरि तिलिजा पुनका अनुसार पहिरो पन्छाउनुका साथै नयाँ बाटो निर्माण गरेर पदमार्ग सञ्चालनमा ल्याइएको हो। दुई सय घरपरिवार रहेको पाउद्वारका बासिन्दा पहिरोबाट क्षति पुगेका पदमार्ग, विद्युत् र खानेपानी आयोजना मर्मतका लागि एक महिनादेखि श्रमदानमा जुटेका छन्।
स्थानीय प्रभा तिलिजा पुनका अनुसार दैनिक ५० जनाका दरले पाँच दिनसम्म श्रमदान गरेर पदमार्ग खुलाइएको हो। पदमार्ग सञ्चालनमा आएपछि पर्यटकसँगै स्थानीयलाई घाँसदाउरा गर्न र गोठसम्म आवतजावत गर्न सहज भएको छ।
अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने समुद्री सतहदेखि ३ हजार ५६० मिटर उचाइमा रहेको खोप्रा पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ। बस्तीभन्दा टाढा शान्त र एकान्त वातावरणमा रहेको खोप्राबाट सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल र पशुगोठको अवलोकन गर्न सकिन्छ।
खोप्रा सामुदायिक लजका कर्मचारी आदेश तिलिजा पुनका अनुसार अर्नब चक्रवातका कारण पछिल्ला एक-दुई दिन पर्यटक आगमन प्रभावित भए पनि अहिले पर्यटकको चहलपहल पुरानै लयमा फर्किएको छ। खोप्रामा पाउद्वार पर्यटन सहकारी संस्थाले सामुदायिक लज सञ्चालन गर्दै आएको छ।
घोडेपानी, कास्कीको घान्द्रुक, बयली, ढाडखर्क र नारच्याङ लेकगाउँ हुँदै खोप्रा पुग्ने पर्यटकले समुद्री सतहदेखि ४ हजार ६०० मिटर उचाइमा रहेको खयरतालसमेत भ्रमण गर्ने गर्छन्। त्यसपछि लरेनी र पाउद्वार हुँदै अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर पुग्न सकिन्छ।
स्थानीय होटल व्यवसायी जसे पुनका अनुसार पहिरोले सडक अवरुद्ध बनाए पनि खोप्रालगायतका पर्यटकीय स्थल सुरक्षित छन्। त्यसैले पर्यटकले सहज रूपमा भ्रमण गर्न सक्ने उनले बताए।
खोप्रा-खयर पदमार्गमा असोज-कात्तिक र चैत-वैशाखलाई मुख्य पर्यटकीय याम मानिन्छ।

