Nepal Purbadhar

समाचार कक्षमा प्रहरी, विभिन्न सञ्चारमाध्यममा प्रहरीको धरपकड


काठमाडौं । नेपाल प्रहरीले शुक्रबार साँझ विभिन्न सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिन थालेको छ। सादा पोशाकमा पुगेका प्रहरी टोलीले पत्रकार पक्राउ गर्ने तथा केहीलाई खोजी गर्ने क्रममा सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरेको हो।

प्रहरीले नेपालप्रेसका पत्रकार विश्वमणि सुवेदीलाई कार्यालयबाटै पक्राउ गरेको छ। नेपालप्रेसका प्रधानसम्पादक मातृका पौडेलले सादा पोशाकमा पुगेका प्रहरीले सुवेदीलाई कार्यालयबाट नियन्त्रणमा लिएको जानकारी दिएका छन्।

पौडेलका अनुसार समाचारको स्रोत सार्वजनिक गर्न नसकिने र त्यसो गर्नु पत्रकारिताको व्यावसायिक मर्यादाविपरीत हुने बताएका छन्। समाचार स्रोतको गोपनीयता पत्रकारको मृत्यु भएसँगै समाप्त हुने विषय नभएको उल्लेख गर्दै उनले प्रहरीको धम्की, दबाब र हतकडीको डरले स्रोतप्रतिको विश्वासघात गर्न नसकिने बताएका छन्।

‘समाचारको स्रोत सार्वजनिक गर्ने विषय हाम्रो आचारसंहिता र विश्वव्यापी नैतिकताले पनि दिँदैन,’ पौडेलले भनेका छन्। सुवेदीलाई नियन्त्रणमा लिएलगत्तै आफू र नेपालप्रेसकी अध्यक्ष विन्दु लम्साललाई साइबर ब्युरोमा बोलाइएको पनि उनले बताएका छन्।

प्रहरीको साइबर ब्युरोले समाचार सामग्रीसँग सम्बन्धित विषयमा सुवेदीलाई नियन्त्रणमा लिएको बुझिएको छ। यद्यपि, एक प्रहरी अधिकृतले भने उनलाई पक्राउ नभई सोधपुछका लागि मात्रै नियन्त्रणमा लिइएको विकासन्युजलाई बताएका छन्।

यसैबीच, प्रहरी टोली नयाँ पत्रिकाको कार्यालयमा समेत पुगेको छ। प्रहरीले त्यहाँ कार्यरत पत्रकार नवराज मैनालीलाई खोजिरहेको छ। नयाँ पत्रिकाका अनुसार प्रहरी टोली कार्यालयमै रहेर पत्रकारहरूसँग छलफल गरिरहेको थियो।

नयाँ पत्रिकाका एक पत्रकारले ठूलो संख्यामा सादा पोशाकका प्रहरी कार्यालयमा प्रवेश गरी माथिल्लो निकायको आदेश भन्दै मैनालीलाई खोजिरहेको बताएका छन्।

त्यस्तै, डीएनए खबरका पत्रकार धिरज बस्नेत र मोटिभेटन्युजका अध्यक्ष तथा प्रधानसम्पादक शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। दियो पोस्टको कार्यालयमा समेत प्रहरी पुगेको जानकारी प्राप्त भएको छ।

विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको यस कदमले प्रेस स्वतन्त्रता, समाचार स्रोतको गोपनीयता र पत्रकारको व्यावसायिक सुरक्षाबारे बहस सिर्जना गरेको छ।


Read Previous

पत्रकार पक्राउको कानुनी आधार सार्वजनिक गर्न प्रेस काउन्सिलको माग

Read Next

रास्वपाद्वारा पत्रकार पक्राउप्रति ध्यानाकर्षण, सरकारसँग जवाफ माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar