
काठमाडौँ । प्रेस काउन्सिल नेपालले सञ्चारमाध्यमका कार्यालय तथा समाचार कक्षमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने प्रहरीको कार्यशैलीप्रति आपत्ति जनाएको छ। काउन्सिलले पत्रकार पक्राउ गर्नुको कानुनी आधार सार्वजनिक गर्न र गैरकानुनी रूपमा नियन्त्रणमा राखिएका पत्रकारलाई तत्काल रिहा गर्न माग गरेको छ।
शुक्रबार कार्यालय समय सकिएपछि विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा सादा पोशाकका प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर चासो व्यक्त गरेको हो।
काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति लिइएको पुष्टि नभएको र अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिने कार्य उचित देखिँदैन।
प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ।
सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति भएमा वा पत्रकार आचारसंहिता उल्लङ्घन भएको भन्दै उजुरी परेमा त्यसको छानबिन तथा निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको पनि विज्ञप्तिमा स्मरण गराइएको छ।
समाचारको विषयलाई लिएर सिधै प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत विवादको समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ।

