
काठमाडौं। बडादसैँ मनाउन घटस्थापनादेखि हालसम्म पाँच लाख ७६ हजारभन्दा बढीले काठमाडौं उपत्यका छाडेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ७९ हजार ६७६ ओटा सवारीसाधनमार्फत पाँच लाख ७६ हजार ५७८ जना उपत्यकाबाट बाहिरिएका हुन्।
उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार उपत्यका छाड्नेमा दुई लाख २७ हजार ७५५ जना महिला र तीन लाख ४८ हजार ८२३ जना पुरुष छन्।
दसैँ नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा व्यवसायका लागि काठमाडौंमा बस्दै आएका नागरिक गाउँघर फर्किन थालेपछि उपत्यकाका प्रमुख नाका र बसपार्कमा यात्रुको चाप बढेको छ। लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा समेत यात्रुको चाप बढ्दै गएको छ।
ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुङ्गा, फर्पिङ, थानकोट, भीमढुङ्गा, तीनपिप्ले, साँखु, भक्तपुर र भट्टेडाँडालगायतका नाकाबाट यात्रु बाहिरिने क्रम जारी छ। यात्रुको आवागमन सहज बनाउन र सवारीसाधनको चाप व्यवस्थापन गर्न ट्राफिक प्रहरीले निगरानी बढाएको छ।
चाडपर्वका समयमा यात्रुको सुरक्षा सुनिश्चित गर्न र सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा खटिएको एसएसपी काफ्लेले बताए। उनले लामो दूरीको यात्रा गर्दा सवारीसाधनको अवस्था, चालकको स्वास्थ्य र सवारी चलाउने समयबारे ध्यान दिन आग्रह गरे।
दसैँमा परिवारसँग चाडपर्व मनाउन राजधानीबाट बाहिरिने यात्रुको सङ्ख्या बढेसँगै उपत्यकाका सडक तथा बाहिरी नाकामा चहलपहल थपिएको छ।

