Nepal Purbadhar

भक्तपुरको सल्लाघारीमा पाइन्छन् मुस्ताङका च्याङ्ग्रा, किलोको १ हजार ३०० रुपैयाँ


भक्तपुर। दशैं नजिकिएसँगै भक्तपुरको सल्लाघारीमा मुस्ताङबाट ल्याइएका च्याङ्ग्राको बिक्री सुरू भएको छ। दशैंमा च्याङ्ग्राको मासु खाने परम्पराका कारण उपत्यकामा माग बढ्ने अपेक्षासहित व्यापारीहरूले च्याङ्ग्रा ल्याएर बिक्री सुरू गरेका हुन्। यस वर्ष च्याङ्ग्राको मूल्य बढ्नुका साथै सडक र पुलमा भएको क्षतिका कारण ढुवानीमा समेत कठिनाइ भएको व्यापारीहरूले बताएका छन्।

सल्लाघारीमा च्याङ्ग्राको मूल्य जिउँदो तौलमा प्रतिकेजी १ हजार २५० देखि १ हजार ३०० रुपैयाँसम्म तोकिएको छ। व्यापारी मेखबहादुर नेपालले आफूले प्रतिकेजी १ हजार ३०० रुपैयाँभन्दा बढीमा च्याङ्ग्रा बिक्री नगरेको बताए।

सिन्धुपाल्चोक घर भई हाल भक्तपुरको दुवाकोटमा बस्दै आएका नेपालले ३० वर्षभन्दा लामो समयदेखि च्याङ्ग्राको व्यापार गर्दै आएका छन्। उनका अनुसार यस वर्ष च्याङ्ग्राको मूल्य प्रतिगोटा करिब ३ हजार रुपैयाँसम्म बढेको छ। तर, उपभोक्तालाई ध्यानमा राख्दै आफूले गत वर्षकै हाराहारीमा मूल्य राखेर बिक्री गरिरहेको उनले बताए।

पसलमा लैजाने व्यापारीलाई भने खरिदको परिमाण र कारोबारका आधारमा प्रतिगोटा १० देखि २० रुपैयाँसम्म छुट दिने गरिएको उनले जानकारी दिए।

सडक र पुलको क्षतिले ढुवानीमा समस्या

यस वर्ष मुस्ताङबाट काठमाडौंसम्म च्याङ्ग्रा ल्याउन व्यापारीहरूले निकै कठिनाइ भोग्नुपरेको छ। वर्षाका कारण विभिन्न स्थानमा सडक र पुल क्षतिग्रस्त हुँदा ढुवानी प्रभावित भएको हो। कतिपय स्थानमा च्याङ्ग्रा तार्न डोजर र टिपरको सहयोग लिनुपरेको नेपालले बताए।

क्षतिग्रस्त सडक तथा पुल पार गराउन व्यापारीहरू आपसमा मिलेर काम गर्नुपरेको उनको भनाइ छ। ढुवानीका क्रममा च्याङ्ग्राको खानपिन र बासको उचित व्यवस्था गर्नसमेत कठिनाइ भएको उनले बताए।

नेपालले यस वर्ष करिब ५ सय च्याङ्ग्रा ल्याएको जानकारी दिएका छन्। तीमध्ये २ सय ओटा कलंकी खसीबजारका व्यापारीलाई बिक्रीका लागि उपलब्ध गराएका छन् भने बाँकी ३५१ ओटा सल्लाघारीमा ल्याएको उनले बताए। सल्लाघारीमा मंगलबारदेखि च्याङ्ग्राको बिक्री सुरू गरिएको हो।

दशैंका लागि च्याङ्ग्रा खरिद गर्न उपत्यकाका विभिन्न स्थानबाट उपभोक्ता सल्लाघारी पुग्ने अपेक्षा व्यापारीहरूले गरेका छन्। मूल्यवृद्धि र ढुवानीको समस्याका बाबजुद चाडपर्वको मागलाई लक्षित गर्दै व्यापारीहरूले च्याङ्ग्रा बिक्रीमा राखेका हुन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा, एलओआई दिने सरकारको योजना

Read Next

महँगीको मारमा दशैं, उपभोक्ता चिन्तित, चाडपर्व मनाउनै मुस्किल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar