Nepal Purbadhar

बेत्रावतीको बेलीब्रिज दशैंअघि सञ्चालनमा आउने

सांकेतिक तस्बिर।


रसुवा। रसुवा र नुवाकोटको सीमावर्ती क्षेत्र बेत्रावतीस्थित फलाखुखोलामा नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको बेलीब्रिज दशैंअघि सञ्चालनमा आउने भएको छ। गत भदौमा आएको बाढीले फलाखुखोलाका दुवै पक्की पुल बगाएपछि अवरुद्ध बनेको पासाङल्हामु मार्ग पुल निर्माणसँगै पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार गल्छी-मैलुङ-स्याफ्रुबेँसी सडक सुधार आयोजनाले आगलीटार-बेत्रावती सडकखण्ड सञ्चालनमा ल्याएपछि बेलीब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज भएको हो।

बेलीब्रिज जडानका लागि आवश्यक सामग्री निर्माणस्थलमा पुर्‍याइसकिएको उनले जानकारी दिए। बाढी प्रभावित नागरिकलाई राहत दिने सरकारी नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न बडादशैंअघि नै पुल जडान गरी सवारीसाधन सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए।

गत भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याउनुका साथै फलाखुखोलामा रहेका पुरानो र नयाँ दुवै पक्की पुल बगाएको थियो। पुल बगाएपछि काठमाडौँ-नुवाकोट हुँदै रसुवासम्मको सडक यातायात प्रभावित बनेको छ।

पुल नहुँदा रसुवाको दक्षिणी तथा उत्तरी क्षेत्रबीचको आवागमन, दैनिक उपभोग्य वस्तुको ढुवानी र अत्यावश्यक सेवासमेत प्रभावित भएका छन्। बेलीब्रिज निर्माण सम्पन्न भएपछि राजधानी काठमाडौँसँग रसुवाको सडक सम्पर्क सहज हुने अपेक्षा गरिएको छ।

यसैबीच, संविधानसभा सदस्य छोवाङ तेन्जिङ तामाङले दशैंअघि बेत्रावतीमा पुल निर्माण सम्पन्न भए राष्ट्रिय चाडपर्वका बेला सर्वसाधारणलाई आवतजावत गर्न सहज हुने बताएका छन्। पुल सञ्चालनमा आएपछि नुवाकोट हुँदै काठमाडौँसँग रसुवाको सडक यातायात पुनः जोडिने उनको भनाइ छ।

उनले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धार र यातायात सञ्चालनका लागि सरकारले गरेका कामको प्रशंसा गर्दै बाढीपछि नेपाली सेनाले निर्वाह गरेको भूमिकाको समेत सराहना गरेका छन्।


Read Previous

बेनी-जोमसोम-कोरला सडकको अवरोध हटाइदै, मर्मत तीव्र, १० दिनभित्र यातायात सञ्चालन गर्ने लक्ष्य

Read Next

बाबुरामको प्रस्ताव : ‘अब विकासको २० वर्षे योजना बनाऔँ, नयाँ पुस्तालाई विस्वास गरौं र नेतृत्व दिऊँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar